०७ असार २०८३, आइतबार

महाअभियोगबाट ध्यान हटाउन क्लिन्टनले गरेका थिए इराकमाथि आक्रमण, ट्रम्प त्यही बाटोमा

महाअभियोगबाट ध्यान हटाउन क्लिन्टनले गरेका थिए इराकमाथि आक्रमण, ट्रम्प त्यही बाटोमा

अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्प र पूर्वराष्ट्रपति बिल क्लिन्टनबीच अनौठो समानता छ जबकि उनीहरू एकअर्कालाई देखिसहँदैनन् । 

यी दुवैका विरुद्ध अमेरिकी संसद्को तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिभमा महाअभियोग प्रस्ताव ल्याइँदा उनीहरूले पश्चिम एसियामा आक्रमण गराए । त्यतिखेर क्लिन्टनले इराकमाथि क्षेप्यास्त्र प्रहार गर्ने आदेश दिएका थिए । अहिले इरानका सैन्य कमान्डरलाई मारेर ट्रम्पले पश्चिम एसियामा तनाव चर्काएका छन् । 

द न्युयोर्क टाइम्समा सन् १९९८ को डिसेम्बर १७ मा इराकमाथि भएको हवाई आक्रमणको खबर प्रकाशित गरिएको थियो । त्यसदिन टेलिभिजनमा बग्दादमा भएका विस्फोटको भयानक दृश्य देखिएको थियो । शहरै आगोको लप्कामा घेरिएको थियो । इराकमाथि कुनै पनि चेतावनी नदिइकन २४ घन्टासम्म २०० भन्दा बढी क्षेप्यास्त्र प्रहार गरिएको अमेरिकी रक्षा विभागले जनाएको थियो । 

इराक आक्रमणले विवाद निम्त्याएपछि विपक्षी रिपब्लिकन नेताहरूले डिसेम्बर १७ मा अमेरिकी इतिहासमा दोस्रोपटक महाअभियोगमाथि मतदानका लागि बहस शुरू गर्ने आफ्नो योजना स्थगित गरेका थिए । 

त्यतिखेर क्लिन्टनविरुद्ध ह्वाइट हाउसमा कार्यरत महिला कर्मचारी मोनिका लेविन्स्कीसँगको यौनसम्बन्धका विषयमा झूटो बोलेको आरोपमा महाअभियोग लगाइएको थियो । 

अहिले ट्रम्पविरुद्ध चाहिँ युक्रेनका राष्ट्रपति वोलोदमिर जेलेन्स्कीमाथि डेमोक्रेटिक पार्टीका सम्भावित उम्मेदवार जो बाइडन र उनका छोरा हन्टरविरुद्ध भ्रष्टाचार जाँचबुझका लागि दबाब दिएको आरोप छ । आफ्नो राजनीतिक लाभका लागि युक्रेनले पाउने आर्थिक सहायता रोकेको आरोप ट्रम्पलाई लगाइएको छ । त्यसबाट ध्यान हटाउन उनले इरानको कुद्स फोर्सका प्रमुख कासिम सुलेमानीलाई इराकमा हत्या गर्ने आदेश दिए ।

ट्रम्पविरुद्ध संसद्को तल्लो सदनमा महाअभियोग प्रस्ताव पारित भएको छ । अब माथिल्लो सदन सिनेटमा यसमाथि विचार गरिनेछ । ट्रम्पविरुद्ध दुईतिहाइ बहुमतका साथ महाअभियोग पारित गरिएमा अमेरिकी इतिहासमा यो प्रक्रियाबाट हटाइने उनी पहिलो राष्ट्रपति बन्नेछन् । 

तर १०० सीट भएको सिनेटमा रिपब्लिकन पार्टीको बहुमत छ । उससँग ५३ सांसद छन् भने डेमोक्रेट पार्टीका ४७ सांसद छन् । ट्रम्पलाई हटाउनका लागि ६७ सांसदको मत आवश्यक हुन्छ त्यसैले यो लगभग असम्भव छ ।

एजेन्सी

कमेन्ट गर्नुहोस्