
महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) विश्वराज पोखरेलले समृद्ध नेपाल सुखी नेपालीको लक्ष्य पूरा सबैको सहयोग र सहकार्य आवश्यक रहेका बताएका छन्।
सामुदाय-प्रहरी-पालिका समिति, चन्द्रागिरिले मंगलबार थानकोट चेकपोष्टमा गरेको सुरक्षा सुदृढीकरण सम्बन्धी अन्तरक्रिया तथा जनचेतनामूलक कार्यक्रममा उठेका जिज्ञासाको जवाफ दिँदै समाज परिवर्तन गर्न वा सुधार गर्न आफैबाट सुरू गर्नुपर्ने, आफू सुधार भए मात्र समाज र राष्ट्रलाई सुधार वा परिवर्तन गर्न सकिने बताएका हुन्।
आफ्ना आफन्तबाट नै धेरै घटनाहरू घटेको स्मरण गराउँदै सुरक्षित समाज निर्माणको लागि सबैको सहयोग र सहकार्यको आवश्यकता पर्ने समेत उनले बताए। पाेखरेलले प्रहरी समुदाय साझेदारी कार्यक्रममार्फत नागरिकहरूसँग अझ नजिक हुनुले कुनै घटनाको जानकारी तुरून्तै प्रहरीलाई दिन आग्रह समेत गरे । काठमाडौँ राजधानी प्रवेश मुख्य नाका भएकाले राजधानीको शान्ति र सुरक्षा कडा हुनुपर्ने भन्दै थानकोट प्रहरीलाई निर्देशन समेत दिए।
डीआईजी पोखरेलले भने, 'अपराध प्रविधिको प्रयोग अहिलेको ठूलो चूनौती हो। यसको नियन्त्रणमा प्रही सधैँ सजग छ । त्यसको प्रत्येक कार्यको समेत सुक्ष्म निगरानी गरेका छौं।' सुशासन कायम गर्ने सरकारको प्रतिबद्धतालाई सफलिभुत बनाउने कार्यमा प्रहरीले सुशासनको आधारभुत कुराहरू कानूनमा आधारीत प्रशासन, निष्पक्षता, समानता, पारदर्शिता, जवाफदेहीता र अन्य व्यवसायिकताका साथ व्यक्तिगत स्वार्थबिना कार्य गर्ने उनले बताए।
महानगरीय ट्राफिक महाशाखाका प्रमुख एसएसपी भीम ढकालले चन्द्रागिरी नगरपालिका उपत्यकाको एउटा मुख्य ढोका रहेको बताए। उनले भने, 'नेपालभरका मान्छेहरु चन्द्रागिरीबाट राजधानी प्रवेश गर्नुहुन्छ, त्यसैले सबैको पहिलो नजर चन्द्रागिरी पर्छ।'
चन्द्रागिरी नगरपालिकाका मेयर घनश्याम गिरीले शान्ति सुरक्षालाई मजबुत बनाउन प्रविधिमैत्री बनाउनुपर्ने बताए। नागढुगादेखि कलंकीसम्म सीसीटिभी क्यामेरा जडान गर्न नगरपालिकाबाट १ करोड रुपैयाँ बजेट विनियोजन गरिएको मेयर गिरीले जानकारी दिए।