
नेपाल विद्यार्थी संघका पूर्वअध्यक्ष एवम् नेपाली कांग्रेसका युवा नेता नैनसिंह महरले आमजनताले एकढिक्का भएको कांग्रेस हेर्न चाहेको बताएका छन्।
कांग्रेस कित्ताकित्तामा बाँडिए प्रजातन्त्र नै जोखिममा पर्ने भएकाले पार्टी एकढिक्का हुनुको विकल्प नभएको नेता महरले बताएका हुन्।
वडादेखि केन्द्रसम्मका सम्पूर्ण कार्यकर्ता, पदाधिकारी र शुभचिन्तकले कांग्रेसको एकताविना प्रजातान्त्रिक आन्दोलनबाट प्राप्त उपलब्धिको औचित्य समाप्त हुने नेता महरले बताए। आफ्नै घर जलाएर आगो ताप्नु जत्तिको जोखिमपूर्ण कुरा अरु के होला र ?, नेता महरले सबै अग्रज नेतालाई प्रश्न गर्दै भने, त्यसकारण अब सबै शुभचिन्तक र आमजनताको निराशालाई आशामा बदल्नुपर्छ।
सरकारले पछिल्लो समय सूचनाप्रविधि लगायतका विभिन्न विधेयकमार्फत अलोकतान्त्रिक र निरङ्कुश चरित्र प्रदर्शन गरेको भन्दैं त्यसको प्रतिवाद गर्न र विकल्पमा कांग्रेस पार्टी अगाडी आउनुपर्ने चाहना आमजनमानसको भएको नेता महरको भनाइ छ।
सरकारका पछिल्ला गतिविधीले सर्वसत्तावाद र जनताको अभिव्यक्ती स्वतन्त्रतामा समेत धावा बोलेको भन्दैं नेता महरले अब कांग्रेस पार्टी एक भएर दह्रो र खरो रुपमा अगाडी बढ्नुको विकल्प नभएको नेता महरले दावी गरे।