इराकस्थित अमेरिकी सैन्य अड्डाहरूमा क्षेप्यास्त्र प्रहार गरेपछि इरानका सर्वोच्च नेता आयातोल्लाह अली खमेनीले बुधवार राष्ट्रलाई सम्बोधन गरेका छन् ।
उनले अमेरिकी अड्डाहरूमा गरिएका आक्रमण सफल भएको बताएका छन् । इरानले अमेरिकी सैनय अड्डाहरूमा कुल २२ क्षेप्यास्त्र प्रहार गरेको थियो ।
उनले भने, ‘अमेरिकाको दादागिरीविरुद्ध हामीले पहिलेदेखि नै संघर्ष गरिरहेका छौं । जनरल कासिम सुलेमानीले पश्चिम एसियाका अन्य देशहरूसँग मिलेर अमेरिकाका गलत योजनालाई विफल तुल्याइरहेका थिए । उनी महान् योद्धा र मेरा असल भाइ थिए । उनी बहादुर व्यक्ति थिए ।’
‘अमेरिकाले सुलेमानीलाई आतंकवादी घोषणा गर्ने कोशिश गर्यो । यो नितान्त अन्यायपूर्ण कदम हो । अमेरिकीहरू झूटा मानिस हुन्,’ उनले थपे ।
उनले भने, ‘केही मानिस इरानमा इस्लामिक रिभोल्युसन अन्त्य भइसकेको जताउन चाहन्थे तर रिभोल्युस जिउँदै छ ।’
खमेनीले सम्बोधन गरिरहँदा मानिसहरूले अमेरिका र इजरायलविरुद्ध मूर्दाबादको नारा लगाए ।
एजेन्सी