
झापाको मेचीनगर–१ मा दलित समुदायका बुवाछोरा नै मिर्गौला फेल भएर डाइलासिस गराइरहेका छन् ।
घरमै परम्परागत आरन चलाउने ६३ वर्षीय पूर्णबहादुर विक र उनका जेठा छोरा ३८ वर्षीय दलबहादुरको दुवै मिर्गौला फेल भएको नोबेल मेडिकल हस्पिटल विराटनगरले पुष्टि गरेको छ ।
हाल बाबुछोरा नै विराटनगरमा डेरामा बसेर सातामा २ पटक डाइलासिस उपचार गराइरहेका छन् । चिकित्सकले दुवै जनाको मिर्गौला प्रत्यारोपण गरिनुपर्ने सल्लाह दिएको पूर्णबहादुरका माहिला छोरा कमलले बताए । पूर्णबहादुरलाई ५ वर्षअघि मिर्गौलामा समस्या देखापरेको थियो भने वैदेशिक रोजगारीबाट फर्केका दलबहादुरको दुवै मिर्गौला फेल भएको ६ महिनाअघि मात्र थाहा भएको थियो ।
मेचीनगर नगरपालिकाका कार्यपालिका सदस्य टीकाराम मग्रातीले आर्थिक अवस्था दयनीय भएको हुँदा बाबुछोराकै उपचारका लागि सहयोग समिति बनाएर अर्थिक संकलन शुरू गरिएको जानकारी दिए ।
अर्थ संकलनका लागि स्थानीय धनबहादुर सेन्च्युरीको संयोजकत्वमा पूर्णबहादुर र दलबहादुर विक बचाउ अभियान गठन गरिएको छ । झापाको भद्रपुर, विर्तामोड र दमकमा डाइलासिस सेवा उपलब्ध भएपनि बिरामीको अत्यधिक भीड भएकाले विराटनगरमा लैजानु परेको मग्रातीले बताए ।