०६ असार २०८३, शनिबार

हिजो दिनभर : सुरक्षा सतर्कता अपनाउन नेपाली शान्ति सैनिकलाई निर्देशन, दुइटा विमान चार्टर गरेर लगियाे १२२ चिनियाँलाई

हिजो दिनभर : सुरक्षा सतर्कता अपनाउन नेपाली शान्ति सैनिकलाई निर्देशन, दुइटा विमान चार्टर गरेर लगियाे १२२ चिनियाँलाई

राष्ट्रियसभा निर्वाचनमा ४५ उम्मेदवार

माघ ९ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि सातै प्रदेशमा ४५ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

राष्ट्रिय सभाका एकतिहाइ सदस्यको पद रिक्त हुने भएपछि आयोगले १८ सीटमा निर्वाचन गर्न लागेको छ भने १ सदस्य सरकारको सिफारिसमा राष्ट्रपतिले नियुक्ति गर्नेछन् ।

निर्वाचनका लागि ४५ जनाको उम्मेदवारी परेको जानकारी दिँदै आयोगका सहसचिव प्रवक्ता राजकुमार श्रेष्ठले निर्वाचन कार्यतालिका अनुसार भोलि बिहीवार उम्मेदवारी मनोनयन फिर्ता लिन सकिने जनाएका छन् ।

प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख/उपप्रमुख, अध्यक्ष/उपाध्यक्ष मतदाता रहने निर्वाचनमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) आवद्ध मतदाताको मतभार बहुमत रहेका छन् ।

अबको पत्रकारितालाई स्वर्ण युगमा बदल्नुपर्छ : मन्त्री बाँस्कोटा

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले वर्तमान सरकारका कारण प्रेस स्वतन्त्रतामाथि कुनै खतरा नरहेको बताएका छन् ।

नेपाल पत्रकार महासंघ भक्तपुरको बुधवार आयोजित २३ औं स्थापना दिवसमा उनले संविधानको मर्म विपरीत प्रेस स्वतन्त्रता कुण्ठित हुने अवस्था आए आफैंं राजीनामा दिएर आन्दोलनमा उत्रने स्पष्ट गरे ।

मन्त्री बाँस्कोटाले भने, ‘एउटा कुराभन्दा पूर्वाग्रह राखेर अर्को कुरा प्रस्तुत गर्ने प्रवृत्ति मिडियामा हाबी भएको छ, म पनि वर्षौंसम्म पत्रकारिता गरेकै मान्छे हुँ, पत्रकारको मर्म मैले बुझ्न सक्छु, पत्रकारिता पनि आचारसंहितामा रहेर गर्नुपर्छ ।’

सरकारले समृद्ध नेपाल, गरीब पत्रकारिता’ को अवधारणा नलिएको बताउँदै मन्त्री बाँस्कोटाले अबको पत्रकारितालाई स्वर्ण युगमा बदल्नुपर्नेमा जोड दिए । ‘अब कमिसन पत्रकारिता धेरै चल्दैन, पत्रकारिता व्यावसायिक हुनुपर्छ, आफ्नो र अर्काको भन्ने आधारमा भन्दा पनि तथ्यमा टेकेर समाचार लेख्न सक्ने वातावरण बन्नुपर्छ,’ उनले भने । 

मन्त्री बाँस्कोटाले पत्रकारको हकहितभन्दा बाहिर गएर मिडिया काउन्सिल विधेयक पारित नहुने स्पष्ट गरे । आफू मन्त्री भएपछि ५ करोड ३४ लाखको पत्रकारिता कल्याण कोष स्थापना गरेको र अब त्यसलाई बढाएर १० करोड रुपैयाँ पुर्‍याइने जानकारी उनले दिए । शंकाका भरमा पत्रकारिता गर्नु गलत भएको हो भन्दै उनले गल्ती गर्नेलाई छाड्न नहुने पनि बताए ।

पत्रकारिता अझै विश्वसनीय र खोजमूलक बन्नुपर्ने भन्दै उनले पूर्वाग्रह राखेर समाचार नलेख्न पत्रकारलाई आग्रह गरे । उनले पत्रकारितालाई अब भजन, मिशन र पार्टी पत्रकारिताबाट माथि उठाएर ‘समृद्ध नेपाल सुखी नेपाली’ अभियानमा जोड्नुपर्ने बताए ।

इरान-अमेरिका तनावः  सुरक्षा सतर्कता अपनाउन नेपाली शान्ति सैनिकलाई निर्देशन

इरान-अमेरिका तनाव पश्चात उत्पन्न सुरक्षा अवस्थालाई लिएर नेपाली सेनाले औपचारिक धारणा सार्वजनिक गरेको छ।

इस्लामिक रिभोलुसनरी गार्ड क्रप्सका प्रमुख कासिमी सुलेमानीको हत्यापछि इरानले इराकमा तैनाथ अमेरिकी सैन्य बेसमा गरेको आक्रमण गरेको थियो। त्यहाँ शान्ति स्थापनार्थ नेपाली सेना पनि खटिएको छ।

नेपाली सेना सूचना निर्देशनालयले बुधबार विज्ञप्ति जारी गर्दै शान्ति स्थापनार्थ यूएन मिसनमा तैनाथ नेपाली सेनाका युनिटहरुलाई आवश्यक सुरक्षा सतर्कता अबलम्वन गर्न निर्देशन दिएको हो।
त्यहाँ तैनाथ नेपाली शान्ति सैनिक सकुशल रहेको पनि जानकारी गराइएको छ। 

जारी विज्ञप्तिमा ‘इरानको किर्कुक र एर्बिलस्थित यूएन बेसमा रहेका ‘नेपाल गार्ड युनिट’का सैनिकलाई सुरक्षा सतर्कता अपनाउन भनिएको’ हो। त्यस्तै, लेवनान र सिरियामा तैनाथ शान्ति मिसनका नेपाली सेनाका युनिटलाई विशेष सुरक्षा सतर्कता अबलम्वन गर्न, परिस्थितिको निरन्तर अनुगमन गर्न तथा मिशन हेडक्वाटर र  शान्ति सेना सञ्‍चालन निर्देशनालयसँग निरन्तर सम्पर्कमा रहन निर्देशन समेत दिइएको छ।

दुइटा विमान चार्टर गरेर लगियाे १२२ चिनियाँलाई, चार वर्षसम्म नेपाल आउन नपाउने

सरकारले अवैध गतिविधिमा संलग्न १ सय २२ चिनियाँ नागरिकलाई देश निकाला गरेको छ।

गत पुस ७ गते काठमाडौँका विभिन्न ठाउँबाट पक्राउ परेका उनीहरुलाई चार वर्ष नेपालमा प्रवेश गर्न नपाउने गरी बुधबार बेलुका  ६ र ७ बजेको चिनियाँ विमानमार्फत फिर्ता पठाइएको हो। पर्यटक भिसामा नेपाल आएका उनीहरु अपराधिक क्रियाकलापमा लागेको पाइएपछि पक्राउ गरिएको थियो।

अध्यागमन विभागका अध्यागमन अधिकृत पवन गुप्ताका अनुसार  एउटा विमानमा ४२ र अर्कोमा ८० जना राखेर विमान चीन उडेको छ।  पुस २० गते अभद्र व्यवहारअन्तर्गत मुद्दामा काठमाडौँका प्रजिअ जनकराज दाहालको इजलासले जनही एक हजार जरिवानाको फैसला सुनाएको थियो । 

त्यसलगत्तै प्रहरीले उनीहरुलाई अध्यागमन विभागमा बुझाएको थियो । अध्यागमन विभागले प्रवेशाज्ञा बाँकी रहेकाको हकमा एक हजार र प्रवेशाज्ञा सकिएर पनि अवैधरुपमा बस्दै आएकालाई  दुई हजार जरिवाना तिराउने निर्णय गरेको थियो । सो जरिवाना चिनियाँ दूतावासले तिरिदिएको छ ।  

 

गुणस्तरहीन सिमेन्ट उत्पादन गर्ने यी चार उद्योग कारवाहीमा

नेपाल गुणस्तर तथा नापतौल विभागले नेपाल गुणस्तर विपरीत सिमेन्ट उत्पादन गर्ने चार उद्योगलाई कारवाही गरेको छ।

विभागको टोलीले नेपाल गुणस्तरअनुरुप सिमेन्ट उत्पादन नगर्ने विशाल सिमेन्ट प्रालि रुपन्देही, इन्टरनेशनल सिमेन्ट प्रालि पर्सा, आरएमसी सिमेन्ट प्रालि बारा र हिमालयन सिमेन्ट प्रालि झापालाई कारवाही गरेको हो। 

विभागका निर्देशक सञ्जीवकुमार ठाकुरले नेपाल गुणस्तर (प्रमाण चिह्न) ऐन, २०३७ तथा नियमावली, २०४० को नियम १६ (क) अनुसार इजाजतपत्र स्थगन गरिएको जानकारी दिए। विभागले विशाल सिमेन्टलाई सङ्कलित नमूनाको एमजिओभन्दा बढी भएको, इन्टरनेशनल सिमेन्टलाई सङ्कलित नमूना ओपिसीको एलएसएफ कम भएको, आरएमसी सिमेन्टलाई सङ्कलित नमूनाको ओपिसी कम भएको र हिमालयन सिमेन्टलाई सङ्कलित नमूनाको आइआर नेपाल गुणस्तर ३८४ अनुरुप नभएकाले कारवाही गरिएको हो । 

संसारकै रद्दी पासपोर्टमा पर्‍यो नेपाल, जापानी पासपोर्ट दुनियाँकै उत्कृष्ट

संसारका विभिन्न मुलुकहरूको पासपोर्टको शक्ति मापन गर्ने संस्था हेनली पासपोर्ट इन्डेक्समा नेपाली पासपोर्ट सबभन्दा कमजोरमध्येमा परेको छ । 

कुल १०७ वटा देशको पासपोर्टलाई सूचीबद्ध गरिएकोमा नेपाली राहदानी १०१औं स्थानमा छ । नेपालभन्दा मुनि लिबिया, यमन, पाकिस्तान लगायतका मुलुक छन् । अफगानिस्तान सबभन्दा तल छ ।

जापानको पासपोर्ट भने सर्वोत्कृष्ट मानिएको छ । जापानी पासपोर्टले संसारका १९१ मुलुकमा प्रवेशाज्ञा (भिसा) विनै वा अनअराइभल भिसा पाउँछ । 

रोचक कुरा त एसियाली मुलुकहरूले सूचीको शीर्ष स्थानमा कब्जा जमाएका छन् भने तल्लो स्थानमा पनि एसियाली मुलुकहरू छन् । 

दोस्रो स्थानमा एसियाली मुलुक सिंगापुर छ अनि तेस्रो स्थानमा दक्षिण कोरिया र जर्मनी छन् । 

केही युरोपेली मुलुकहरू शीर्ष दश स्थानमा अटाएका छन् । चौथो स्थानमा फिनल्यान्ड र इटली छन् भने स्पेन, लक्जेम्बर्ग र डेनमार्क पाँचौं स्थानमा छन् । स्विडेन र फ्रान्स छैठौं स्थानमा छन् । 

कुन देशको पासपोर्टले सबभन्दा बढी मुलुकमा भिसा नचाहिने वा अनअराइभल भिसा पाउने हो भन्ने आधारमा त्यसको शक्ति निर्धारण गरिन्छ ।

मालपोत कार्यालयका खरिदार ४० हजार घुससहित पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवल कार्यालयले मालपोत कार्यालय नवलपरासीका खरिदारलाई ४० हजार घुस रकमसहित बुधवार रंगेहात पक्राउ गरेको छ ।

भूमिसुधार तथा मालपोत कार्यालय पश्चिम नवलपरासीका खरिदार नेत्रबहादुर चौधरी सेवाग्राहीबाट जग्गाको बाँडफाडमा सहजीकरण गरिदिने भन्दै ४० हजार रुपैयाँ घुस लिँदै गर्दा रंगेहात पक्राउ परेका हुन् ।

आयोगको बुटवल कार्यालयका प्रवक्ता सुरेश भुसालले ‘स्ट्रिङ अपरेसन’का क्रममा उनलाई घुस दिँदै गर्दा नियन्त्रणमा लिइएको लोकान्तरलाई जानकारी दिए । उनलाई आयोगको कार्यालय बुटवलमा राखिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्