
भेरी अस्पतालमा सेवा लिन आउने अधिकांश बिरामी अस्पतालको सेवासुविधा, चिकित्सकको व्यवहार र सरसफाइप्रति सन्तुष्ट देखिएका छैनन् ।
लुम्बिनी प्रदेशको एक मात्र संघीय अस्पतालको सेवाबाट सन्तुष्ट हुनेभन्दा असन्तुष्ट हुनेको संख्या दिनप्रतिदिन बढ्दै गएको जनाइएको छ ।
दैनिक १ हजारको हाराहारीमा बिरामी सेवा लिन अस्पताल आउने गरेको अस्पतालले जनाएको छ । सेवा लिन भेटिएका अधिकांश बिरामी र उनका आफन्तले अस्पतालको उपचार सेवा, चिकित्सकको व्यवहार राम्रो नभएको गुनासो गरेका छन् ।
बिरामीले प्रश्न गर्दा चिकित्सक र नर्सले उत्तर दिन झर्को मान्ने गुनासो अस्पतालमा सुनिँदै आइएको छ ।
अस्पतालद्वारा सञ्चालित औषधि पसलमा बिरामीले चोहेका औषधि पाइँदैन । यसैगरी प्रयोगशाला परीक्षण गर्न निजी प्रयोगशाला जानुपर्ने बाध्यता बिरामीमा रहेको छ ।
शौचालयको दुर्गन्धले अस्पतालमा बसिसक्नु छैन । अस्पतालका मेडिकल सुपेरिटेन्डेन्ट डा. रुपानन्द अधिकारीले भने, ‘अस्पतालको सेवा प्रभावकारी बनाउन कर्मचारीको अनुशासन, सरसफाइ र व्यवहारमा विशेष ध्यान दिइएको छ ।’ अस्पतालमा प्रायः सबै रोगका विशेषज्ञ चिकित्सक कार्यरत रहेका छन् ।
चिकित्सकले अस्पतालमा भन्दा बाहिरका निजी क्लिनिकमा बढी समय दिँदै आएका छन् । अस्पतालमा कार्यरत चिकित्सकले बिरामी भएको शय्यामा नपुगेरै ढोका बाहिरैबाट अवलोकन (राउन्ड) गर्ने गरेको बिरामीको गुनासो छ ।
उपकरण प्रयोगमा नआउँदै थन्कियो
अस्पतालमा रहेको सिकलसेल एनिमिया जाँच गराउने इलेक्ट्रोफोरसिस नामक उपकरण बिग्रिएपछि यसका बिरामीले १० महिनादेखि जाँच गराउन पाएका छैनन् । बिरामी अहिले निजी क्लिनकमा जाँच गराउन बाध्य रहेका छन् ।
अस्पताल प्रशासनले बिग्रिएको उपकरण मरमतमा ध्यान दिएको छैन । मेसु डा. अधिकारी र सम्बन्धित रोगका विशेषज्ञ डा. राजन पाण्डेले अहिलेसम्म उपकरण मर्मत गर्नेतर्फ चासो नदेखाएका बिरामीको गुनासो छ ।
निजी स्वास्थ्य संस्थामा १ हजार ५०० देखि २ हजार रुपैयाँसम्म शुल्क तिरेर जाँच गराउन बाध्य भएको सिकलसेल एनिमिया सोसाइटीका अध्यक्ष प्रभुराम थारुले बताए । उपकरण बिग्रिएकाले सो रोग परीक्षण गराउन निःशुल्क सेवाबाट बिरामी वञ्चित भएका छन् ।
अस्पतालमा हप्तामा ६०–७० जना सिकलसेल जाँचका लागि आउने जनाइएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेले अस्पताललाई प्रदान गरेको सो नामको २ वटा उपकरण प्रयोगमा नआउँदै थन्किएको छ ।