२३ असार २०८३, मंगलबार

इरानले २२ वटा मिसाइल खसाल्दा पनि कसरी बाँचे अमेरिकी सेना ? यस्तो रहेछ कारण

इरानले २२ वटा मिसाइल खसाल्दा पनि कसरी बाँचे अमेरिकी सेना ? यस्तो रहेछ कारण

इरानका वरिष्ठ सैन्य कमाण्डर कासिम सुलेमानीको हत्यापछि बढेको इरान-अमेरिका तनाव तत्काल युद्धमा परिणत हुने सम्भावना टर्दै गएको छ । 

आफ्ना वरिष्ठ सैन्य कमाण्डरको हत्याको बदलास्वरूप इरानले गरेको भनेको मिसाइल आक्रमणमा अमेरिकातर्फ ठूलो क्षति नहुनु र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले समेत तत्काल जवाफी कारवाही गर्ने नबताउनुले त्यतैतर्फ संकेत गरिरहेका छन् ।

बरू अहिले बहस अर्कोतर्फ मोडिएको छ– के इरानले अमेरिकालाई ठूलो क्षति नगराउन नै चाहेको हो ? जानी–जानी क्षति कम हुने ठाउँमा मिसाइल आक्रमण गरिएको हो ?

अमेरिका तथा युरोपेली सरकारी स्रोतहरूलाई हवाला दिँदै रोयटर्सले लेखेको छ– इरानले जानीजानी यसो गरेको हो ताकि स्थिति नियन्त्रणबाहिर नजाओस् । युद्ध नै गर्ने हो भने इरान अमेरिकाको तुलनामा निकै कमजोर छ ।

आफ्ना वरिष्ठ सैन्य कमान्डरको हत्याको बदला लिनुपर्ने जनभावनाको सम्मान र अमेरिकासँग पनि तत्काल निहुँ नखोज्ने उद्देश्यले इरानले यसो गरेको हुनसक्ने आशंका गरिँदैछ ।

अमेरिकी न्यूज च्यानल सीएनएनका पत्रकार ज्याक ट्यापरले एक वरिष्ठ अधिकारीलाई हवाला दिँदै लेखेका छन्– इरानले जानी-जानी यस्तो टार्गेट चुनेको थियो जहाँ सकेसम्म कम क्षति होस् ।

अमेरिकी पत्रिका द वाशिङ्टन पोस्टले आफ्नो रिपोर्टमा लेखेको छ– सम्भावित इरानी हमलाबारे अमेरिकाले मंगलवार दिउँसो नै सूचना पाएको थियो ।

इराकस्थित अमेरिकी सैनिक बेसक्याम्पमा हमला हुनसक्ने सूचना थियो, तर कुन क्याम्पमा हमला हुँदैछ भन्ने यकिन थिएन ।

समाचारमा लेखिएको छ– 'इराकस्थित आफ्नो जासूसी संयन्त्रबाट अमेरिकालाई सम्भावित इरानी हमलाबारे चेतावनी प्राप्त भएको हो ।'

अमेरिकी न्यूज च्यानल सीबीएसका सम्वाददाता डेभिड मार्टिनले एक वरिष्ठ रक्षा अधिकारीलाई उद्धृत गर्दै भनेका छन्– 'हमलाको केही घण्टा अगाडि नै अमेरिकालाई सूचना प्राप्त भएको थियो, जसका कारण सुरक्षित बंकरमा शरण लिन अमेरिकी सैनिकहरूले पर्याप्त समय पाए ।'

इराकस्थित जासूसी संयन्त्रका अलावा यस्तो जानकारी स्याटेलाइट सिग्नलबाट पनि अमेरिकाले प्राप्त गरेको थियो ।

अमेरिकी रक्षा मन्त्रालय स्रोतलाई उद्धृत गर्दै समाचारमा भनिएको छ– स्याटेलाइट सिग्नलको कम्बिनेसनको मद्दतले पनि इरानी आक्रमणबारे सूचना प्राप्त भएको थियो । 

यो त्यही अमेरिकी सिस्टम हो जसले उत्तर कोरियाली मिसाइल परीक्षणको निरन्तर निगरानी गर्दै आएको छ ।

मिडिलबरी इन्स्टिच्यूट अफ इन्टरनेसनल स्टडिजका लागि व्यवसायिक कम्पनी प्लानेट ल्याब्सले लिएको स्याटेलाइट तस्वीर पनि सार्वजनिक भएको छ, जसमा इराकको अल-असदस्थित अमेरिकी सेनाको एयर बेस क्याम्पमा कम्तिमा ५ वटा संरचना ध्वस्त भएको देखाइएको छ ।

इरानले निशाना बनाएको अमेरिकी सैन्य क्याम्प

इराकी सेनाका अनुसार बुधवार राति स्थानीय समयअनुसार पौने २ बजेदेखि सवा २ बजेको बीचमा २२ मिसाइल इराकी भूमिमा खसालिएको थियो, जसमध्ये १७ मिसाइल अल-असद बेस क्याम्पलाई निशाना बनाएर प्रहार गरिएको थियो ।

इराकी सेनाका अनुसार अल-असद क्याम्पलाई निशाना बनाएर छोडिएका २ मिसाइल इराकको हित क्षेत्रस्थित हितान गाउँनजिक खसेका थिए, ती मिसाइल विस्फोट भएनन् ।

निशानाभन्दा बाहिर खसेर विस्फोट नभएका मिसाइलका टुक्रा

ती मिसाइलका केही टुक्राहरू सामाजिक सञ्जालमा शेयर समेत गरिएको छ ।

– बीबीसी हिन्दीमा प्रकाशित सामग्रीको एक अंश

salt training

कमेन्ट गर्नुहोस्