काठमाडौँ, ६ पुस - सरकारले वैदेशिक रोजगारीका लागि खाडी मुलुक र मलेसियाबाहेकका नयाँ श्रम गन्तव्य मुलुकको खोजी गर्ने योजना एक दशकअघिको भए पनि कुनै उपलब्धि भएको छैन, आजको गोरखापत्र दैनिकले खबर छापेको छ | यसले गर्दा दशककौँदेखि नेपाली श्रमको मूल्य नभएको, श्रमिकको मानव अधिकार नभएको र चर्को श्रम शोषण गर्ने मुलुक मलेसियासहित खाडी मुलुकमा जान बाध्य छन् ।

पछिल्लो समयमा मलेसिया, साउदी अरब, कतार लगायतका मुलुकमा विभिन्न कारणले आर्थिक मन्दी देखिएसँगै नेपाली कामदारको माग गत वर्षदेखि घट्दो क्रममा छ तर नयाँ श्रम गन्तव्य मुलुकको खोजी हुन सकेको छैन ।
वैदेशिक रोजगार ऐन २०६४ ले श्रमिकको अधिकार भएको र उनीहरूले गरेको श्रमको मूल्याङ्कन हुने नयाँनयाँ श्रम गन्तव्य मुलुकको खोजी गर्ने जिम्मेवारी वैदेशिक रोजगार प्रवद्र्धन बोर्डलाई दिएको छ तर बोर्डले यस विषयमा कुनै काम गर्न सकेको छैन ।
वैदेशिक रोजगारविज्ञ डा. गणेश गुरुङले श्रमको सम्मान, श्रमिकको मानव अधिकार हुने देशको खोजी गरेर पठाउनुको सट्टा सरकारले ‘काफला स्टम’ भएका खाडी मुलुकमा युवा पठाएका कारण दोहोरो तेहेरो शोषणमा पर्ने गरेको आरोप लगाए ।