०५ साउन २०८३, मंगलबार
संघीय संसद

सभामुखमा सुवास नेम्वाङको च्याप्टर क्लोज, अब प्रचण्डले जो चाह्यो त्यही !

'पहिलो रोजाइमा अग्नि, दोस्रोमा पम्फा'
सभामुखमा सुवास नेम्वाङको च्याप्टर क्लोज, अब प्रचण्डले जो चाह्यो त्यही !

प्रतिनिधिसभाको सभामुख पूर्वमाओवादी केन्द्र खेमाबाटै बनाउन प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली सहमत भएका छन्। अध्यक्षद्वय ओली र पुष्पकमल दाहाल 'प्रचण्ड' बीच सभामुखको उम्मेदवारबारे सहमति नजिक पुगेको प्रचण्ड निकट उच्च स्रोतले लोकान्तरलाई जानकारी दियो। 

‘सभामुखको उम्मेदवारमा सुवास नेम्वाङको च्याप्टर क्लोज भएको छ, प्रचण्डले जो चाह्याे त्यही सभामुख बन्ने पक्का भएको छ,’ स्रोतले लोकान्तरसँग भन्यो। नेकपाभित्र सभामुखको उम्मेदवारको विवाद पेचिलो बन्दै गएपछि संसदको बैठक सूचनामार्फत लामो समय स्थगित गरिएको छ। 

प्रधानमन्त्री ओलीले नेम्वाङलाई सभामुख बनाउन अडान लिएका कारण सहमति जुटन सकेको थिएन। पूर्व एमालेको एउटा खेमा उपसभामुख डा शिवमाया तुम्वाहाम्फेलाई सभामुख बनाउने लविङमा थियो।

सभामुखको उम्मेदवारको विषयलाई लिएर प्रचण्डले ओलीसँग पटक-पटक छलफल गरेका थिए। ओलीका सामु अडान त्यागेको र नेकपाभित्र पूर्वएमाले हावी भएको भन्दै पूर्वमाओवादी केन्द्रका नेताहरु प्रचण्डसँग रुष्ट बनेका थिए। 

केहि दिन पहिले पूर्वमाओवादीका केही प्रभावशाली नेताहरुले प्रचण्डलाई खुमलटारमा भेटेर सभामुखको अडान नत्याग्न दवाव दिएका थिए। सभामुखको अडान त्यागेमा अन्य एजेण्डामा आफूहरुले साथ दिन नसक्ने उनीहरुले प्रचण्डलाई चेतावनी दिएका थिए।  

दोस्रो तहका नेताहरुको दवावपछि प्रचण्डले सभामुख पूर्वमाओवादी पक्षबाटै हुनुपर्ने अडानबाट पछि नहट्ने संकेत ओलीलाई दिएका थिए। पछिल्लो पटक ओलीसँगको भेटमा पनि प्रचण्डले सो अडान दोहो-याएका थिए।

नेकपाले सभामुखको उम्मेदवार छान्न नसक्दा पुस ४ गते शुरु भएको प्रतिनिधिसभाको बैठक सूचना टाँसेर पुस २७ गतेसम्मको लागि स्थगित भएको थियाे।

‘आइतबार बस्ने प्रतिनिधि सभाको बैठक अगावै उपसभामुख डा शिवमाया तुम्बाहाम्फेको राजीनामा आउछ,’ नेकपा स्रोतले भन्यो। सभामुख निर्वाचन शुरु गर्नु अघि उपसभामुखले राजीनामा दिने र जेष्ठ सदस्यले बैठकको अध्यक्षता गर्नेगरी तयारी भएको छ।

प्रचण्डको पहिलो रोजाइ अग्नि, दोस्रोमा पम्फा

प्रतिनिधि सभाको सभामुखका लागि प्रचण्डले प्रभावशाली नेता अग्नि सापकोटाको नाम अगाडि सारेका छन्। दोस्रो विकल्पमा पम्फा भुसालको नाम अगाडि सारेका छन्।

‘सभामुखको उम्मेदवारको लागि प्रचण्डको पहिलो रोजाइ अग्नि सापकोटा र दोस्रोमा पम्फा भुसाल हुनुहुन्छ,’ नेकपा स्रोतले भन्यो, ‘पूर्व एमाले खेमा भने भुसालको पक्षमा देखिन्छ ।’ भुसाल ललितपुर ३ तथा सापकोटा सिन्धुपाल्चोक १ बाट प्रत्यक्ष निर्वाचित सांसद हुन्।

यसअघि पूर्वमाओवादीबाट देव गुरुङको नाम समेत चर्चामा थियो। संसद सचिवालयमा कार्यरत एक महिला कर्मचारीलाई दुव्यवहार गरेको आरोप लागेपछि तत्कालीन सभामुख कृष्णबहादुर महराले गत असोज १४ गते राजीनामा दिएका थिए।  

salt training

कमेन्ट गर्नुहोस्