०६ असार २०८३, शनिबार

सडक विभागमा जनशक्ति अभाव, प्रगति बढाउन अप्ठ्यारो

सडक विभागमा जनशक्ति अभाव, प्रगति बढाउन अप्ठ्यारो

नागढुङ्गा सुरुङमार्ग निर्माणमा सडक विभागले ३ इञ्जिनीयर पठाउने निर्णय गरेको थियो । सुरुङमार्ग निर्माण नेपालका लागि नयाँ अनुभव भएकाले काम गरेर सिक्ने जनशक्ति पठाउन खोजिएको हो ।

सुरुङमार्ग निर्माणस्थलमा जग्गाको मुआब्जा दिन बाँकी भएपनि सो कामका लागि समेत जनशक्ति छैन ।

विभागको जिम्मेवारीमा सडक र पुलसँगै सुरुङमार्ग थपिए पनि यहाँको जनशक्ति भने घटेको छ । गत वर्षको कर्मचारी समायोजन र विभागका जिल्ला कार्यालयका रूपमा रहेका डिभिजन सडक कार्यालय प्रदेश सरकारमा हस्तान्तरणसँगै झण्डै ५०० दरबन्दी कम भएका छन् । विभागमा विक्रम संवत् २०५० भन्दा पछि दरबन्दी नबढेको कार्यरत कर्मचारी बताउँछन् ।

त्यतिबेला साढे ४ हजार किलोमिटर सडक रहेकामा अहिले नेपाल सरकारको अधिकार क्षेत्रमा १ हजार ५०० किमी सडक छ । यो अवधिमा सडक निर्माण र मर्मतको जिम्मेवारपूर्ण निकाय सडक विभागमा जनशक्ति भने घटेको उपमहानिर्देशक शिवहरि सापकोटाले बताए । २६ वर्ष पहिले विभागमा २ हजार ५१९ दरबन्दी थियो भने अहिले त्यो दरबन्दी कम भएको छ ।

यसबीचमा बजेट कयौं गुणा बढेको उनको भनाइ छ । उनले भने, ‘बजेट बढेसँगै विभागको प्रगति बढाउन जनशक्ति बढाउन खाँचो छ ।’

जनशक्ति कम हुँदा काम गर्न गाह्रो भएकाले विभागले जनशक्ति बढाउन मन्त्रालयमा प्रस्ताव लगेको छ । विभागअन्तर्गतका डिभिजन कार्यालय र जनशक्ति दुवै बढाउन प्रस्ताव गरिएको उपमहानिर्देशक सापकोटाले बताए । ८ ठाउँमा जिल्ला कार्यालय थप गर्न प्रस्ताव गरिएको छ ।

विभागमा २ हजार ६७७ कर्मचारी प्रस्ताव गरिएको छ । तीमध्ये इञ्जिनीयरिङ सेवाका २ हजार २०१ कर्मचारी छन् । उनले भने, ‘अहिले त्यो दरबन्दी थपेपछि मात्रै हामीलाई काम गर्न सजिलो हुन्छ ।’

विभागमा अहिले दरबन्दीभन्दा पनि कम कार्यरत कर्मचारी हुँदा भइरहेका काममा अनुगमन र नियमन गर्न कठिन भएको सापकोटाले बताए । विभागमा अहिले १ हजार ८३५ कर्मचारी कार्यरत छन् । सोमध्ये इञ्जिनीयरिङ सेवाका कर्मचारी १ हजार ३९४ छन् ।

जनशक्ति कम हुँदा थोरै जनशक्तिले ठूलो क्षेत्रफल हेर्नुपर्ने उनले बताए । उनले भने, ‘नयाँ दरबन्दी पारित भएमा यो समस्या हट्ने छ ।’

कर्मचारी र जिल्ला कार्यालय दुवै कम हुँदा काममा बाधा पुगेको सडक विभाग, विकास सहायता कार्यान्वयन महाशाखाका प्रमुख अर्जुनजङ्ग थापाले बताए । गत वर्ष मन्त्रिपरिषद्को निर्णायानुसार १८ डिभिजन कार्यालय प्रदेश सरकारलाई हस्तान्तरण गरिएको थियो । अहिले ती कार्यालयमा नेपाल सरकार र प्रदेश सरकार दुवैका कर्मचारी रहेका उनले बताए ।

सडक निर्माणका लागि ठेक्का सम्झौता भएका स्थानमा विभागको जिम्मेवारी नियमितरूपमा नियमन गर्ने र गल्ती भएका ठाउँमा सुधारका लागि सल्लाह दिने हो । 

सरकारको मात्रै नभएर वैदेशिक लगानीका सडकमा पनि कतिपय समस्या आइरहेका पाइन्छन् । उनले भने, ‘हामीले नियमित हेर्दा मात्रै निर्माणकै अवधिमा गल्ती भेटाएर सुधार्न सक्छौं ।’ पूर्वाधार निर्माणका क्रममा प्रविधिक जनशक्ति पर्याप्त हुँदा त्यो गुणस्तरीय निर्माण हुने प्रमुख थापाको भनाइ छ ।

तीनकुने–सूर्यविनायक सडकमा जापानी कम्पनीले झण्डै २५ इञ्जिनीयर खटाएको थियो । अहिले एउटै डिभिजनले धेरै सडक र पुल हेर्नुपरेको उनले बताए ।

डिभिजन हस्तान्तरण हँुदा एउटा प्रदेशमा २/२ कार्यालय हस्तान्तरण गरिएको थियो । अहिले प्रदेश नम्बर २ मा विभागको एउटा मात्रै डिभिजन छ । त्यसमा कार्यरत थोरै जनशक्तिले धेरै योजना हेरिरहेको उनको भनाइ छ ।

बुटवलस्थित डिभिजन सडक कार्यालयमा भएका ३ इञ्जिनीयरले ५४ पुल र धेरै सडक योजना अनुगमन गरिरहेका छन् । उनले भने, ‘सामान्य प्रशासन मन्त्रालयले दरबन्दी थप्दा मात्रै काममा सहजता हुन्छ ।’

विभागमा गत वर्ष नै ठेक्का सम्झौता भएका १ हजार ४६७ पुल निर्माणाधीन छन् । चालू आवमा स्थानीय सडकमा २१२ पुल निर्माण हुँदै गरेका र रणनीतिक सडकमा पनि धेरै पुल निर्माण गर्नुपर्ने देखिएको पुल महाशाखा प्रमुख दीपक भट्टराईले बताए ।

सडक निर्माणसँगै पुल निर्माणका हिसाबले पनि विभागमा उच्च चाप रहेको उनको भनाइ छ । सरकारले पूर्वाधारमा बजेट बढाएसँगै त्यसको कार्यन्वयन गर्ने कर्मचारी बढाउनुपर्ने उनको भनाइ छ । 

पुलका अधिकांश योजना बहुवर्षिय ठेक्कामार्फत निर्माण हुने गरेका छन् । यी पुलको नियमित अनुगमन गर्न नसकिएको उनको भनाइ छ । उनले भने, ‘रणनीतिक सडकमा मात्रै होइन, स्थानीय सडकमा पनि विभागले नै पुल बनाइरहेको छ तर नियमन गर्ने जनशक्ति कम छ ।’ देशभरमा सडक सञ्जाल झण्डै ८ हजार ३ सय किमी फैलिएको छ । १ हजार ५०० किमी सडक नेपाल सरकार र बाँकी सडक प्रदेश सरकार तथा स्थानीय तहअन्तर्गतका छन् । – सञ्चिता घिमिरे/रासस

salt training

कमेन्ट गर्नुहोस्