०१ साउन २०८३, शुक्रबार

स्पेनी मन्त्रीसँगै अध्यक्ष तिमिल्सिनाले गरे पर्वतका पर्यटकीय स्थलको भ्रमण

स्पेनी मन्त्रीसँगै अध्यक्ष तिमिल्सिनाले गरे पर्वतका पर्यटकीय स्थलको भ्रमण

स्पेनका संस्कृति, पर्यटन तथा खेलमन्त्री नुरिया फ्लोरेश रेडोण्डोको नेतृत्वमा लुम्बिनी फाउन्डेसनका पदाधिकारी सहितको टोलीले पर्वतका विभिन्न पर्यटकीय स्थलको भ्रमण गरेको छ ।

सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्षको रूपमा मनाइरहेका बेला राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासहित स्पेनी मन्त्री नुरियाको टोलीले जिल्लाको सबैभन्दा उचाइमा रहेको कालाञ्जर क्षेत्र र एसियाकै ठूलो महाशिलाको अवलोकन गरेको हो । उनीहरूले यी क्षेत्रको प्रवद्र्धनमा सहयोग पुर्‍याउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

शुक्रवार कालाञ्जर क्षेत्रमा आएको टोलीले केही समय त्यहाँको अवलोकन गरी पुनः महाशिला पुगेको हो । पर्वतको मोदी गाउँपालिका–१ डाँडाकमेरेमा हेलिकोप्टरमार्फत आएको टोलीले उक्त क्षेत्रको सुन्दरता अवलोकन गरेको छ । सो अवसरमा स्थानीय मगर, गुरुङ, ब्राह्मण, दर्जी समुदायले आ–आफ्नो संस्कृति झल्कने गरी प्रस्तुतिहरू राखेका थिए । स्पेनका जनप्रतिनिधि र व्यवसायीको टोलीले हिमालको सुन्दर दृश्यको आनन्द समेत लिएका थिए । 

मोदी गाउँपालिकाले व्यवस्थापन गरेको उक्त अवलोकन भ्रमणका अवसरमा बोल्दै राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सन् २०२० मा अपेक्षा गरेभन्दा पनि बढी बाह्य पर्यटक भित्र्याउनका लागि अन्तर्राष्ट्रिय समुदायको ठूलो भूमिका रहेको बताए ।

उनले यस्ता अवलोकन भ्रमणले पर्यटकीयस्थलको अन्तर्राष्ट्रियस्तरमा समेत प्रचारप्रसार हुने बताउँदै संस्कृतिमन्त्री नुरियालाई त्यस देशका नागरिकलाई नेपाल घुम्नका लागि आह्वान गरिदिन आग्रह गरे ।

टोलीले एसियाकै ठूलो मानिएको महाशीला (ढुंगा)को पनि अवलोकन गरेको छ । पर्वतको महाशीला गाउँपालिका–५ लुंखुदेउरालीमा रहेको महाशीलामा पुगेको टोली ढुंगा देखेपछि दंग परेका थिए । सोही अवसरमा महाशीला गाउँपालिकाको आन्तरिक भ्रमण वर्षको लोगोसमेत स्पेनी मन्त्री नुरियाले सार्वजनिक गरेका थिए ।

सो अवसरमा स्पेनी मन्त्रीसहितको टोलीलाई मोदी गाउँपालिकामै उत्पादन गरिएको अल्लोको कपडा र नेपालको झण्डा प्रदान गरिएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्