
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले बौद्धिक जनशक्ति र पूँजी पलायन रोक्नुपर्ने बताएका छन् ।
नेपाल शैक्षिक परामर्श संघ (इक्यान) को १४ औं साधारण सभाको शनिवार उद्घाटन गर्दै उनले मुलुकबाट अध्ययनका लागि ठूलो मात्रामा बौद्धिक जनशक्तिसँगै पूँजी पलायन पनि डरलाग्दो रुपमा रहेकाले त्यसलाई रोक्नुपर्ने बताए ।
विदेशमा अध्ययन गरेका विद्यार्थीलाई नेपाल फर्काउन इक्यानले भूमिका खेल्नुपर्ने समेत उनको भनाइ छ । ‘विदेशमा भएर अध्ययन गर्नु राम्रो हो । तिनीहरूले विश्वमा भएको विकासको बारेमा सिक्न पाउँछन्,’ उनले भने, ‘त्यहाँ अध्ययन गरेसकेपछि ती विद्यार्थीलाई नेपालमा फर्काउन सके मुलुकको समृद्धिमा सहयोग पुग्ने छ ।’
उनले १९८० को दशकमा विश्वमा रहेका चिनियाँ नागरिक आफ्नो मुलुक फर्केको उल्लेख गर्दै नेपालले पनि त्यसैगरी विश्वमा रहेका बौद्धिक व्यक्तिलाई फर्काउनुपर्नेमा जोड दिए । उनले विश्वमा नेपालको पर्यटन बजारलाई उपस्थित गराउन नेपाल भ्रमण वर्ष–२०२० शुरूआत गरिएको भन्दै इक्यानले पनि आफ्नो पहलबाट नेपालमा पर्यटक ल्याउन सहयोग गर्नुपर्ने धारणा राखे ।
‘यहाँबाट लाखौं विद्यार्थी अध्ययनका लागि बाहिर गएका छन् । ती विद्यार्थीले आफ्नो कजेलमा नेपालको पर्यटकीय क्षेत्रका बारेमा जानकारी गराएर भ्रमण वर्षमा त्यहाँका कलेजबाट पनि पर्यटक ल्याउनुपर्छ,’ उनले भने ।
उनले भ्रमण वर्ष शुरूसँगै भौतिक पूर्वाधारका काम पनि सँगै हुने बताए । हिजोभन्दा राम्रो सेवा हाम्रो विमानस्थलले दिन थालेको भन्दै उनले नयाँ बन्ने निजगढ अन्तर्राष्ट्रिय विमानस्थलले विश्वका राम्रा विमानस्थलले दिने सेवा दिने धारणा राखे ।
कार्यक्रममा इक्यानका अध्यक्ष विष्णुहरि पाण्डेले विदेश अध्ययन गर्न जाने विद्यार्थीमार्फत आफूहरूले पर्यटक भित्र्याउने बताए । साधारण सभाले २ वर्षका लागि नयाँ नेतृत्वसमेत चयन गर्नेछ ।