२३ जेठ २०८३, शनिबार

कारागारभित्र कोचाकोच गरेर सुत्छन् महिला कैदीबन्दी

कारागारभित्र कोचाकोच गरेर सुत्छन् महिला कैदीबन्दी

सिरहा कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी राखेका कारण खानेपानी तथा शौचालय गर्न कैदीबन्दीलाई समस्या भएको छ ।

क्षमताभन्दा बढी कैदीबन्दी राखिएका कारण सुत्न बस्नको साथै नुहाउन, दिसापिसाब गर्नसमेत निकै समस्या भएको कैदीबन्दी बताउँछन् ।

त्यसमा पनि पुरुष कैदीबन्दीभन्दा महिला कैदीबन्दीलाई ठूलो समस्या छ । उनीहरूलाई एउटै शैय्यामा ३ जनासम्म सुत्नुपर्ने बाध्यता छ ।

सिरहा कारागारमा १३५ पुरुष र १५ महिला गरी १५० कैदीबन्दी राख्ने क्षमता रहेकामा हाल ४६८ पुरुष र २२ महिला कैदीबन्दी तथा उनीहरूसँगै आश्रित १ बालक र २ बालिकालाई राखिँदा खान, बस्न र सुत्नसमेत समस्या भइरहेको कैदीबन्दीको भनाइ छ ।

‘एउटै कोठामा १०/१२ जनासम्म कोचाकोच गरेर राख्दा सुत्न बस्न ठूलै समस्या भइरहेको छ,’ कारागारमा कैदी जीवन बिताइरहेका ज्ञानबहादुर थापा मगरले भने, ‘क्षमताभन्दा ३ गुणा बढी कैदीबन्दी राखिएको छ तर जम्मा १२ मात्र शौचालय छ ।’

यस्तै अवस्था छ, महिला कैदीबन्दीको पनि । २ कोठामा राखिएका महिला कैदीबन्दीका लागि केवल २ शौचालय र एउटा स्नानगृह रहेकाले समस्या भएको महिला कैदीबन्दीको भनाइ छ । एउटा कोठामा १० जनासम्मलाई पुग्ने खाट नअटेपछि ३/३ जना एउटै खाटमा सुत्नुपरेको र खाटमा नअटेर केही महिला बन्दी भुइँमै सुत्न बाध्य भएको थुनामा रहेकी शुभकलादेवी यादवले भनिन्, ‘कोठा र खाटको अभावले आफूहरूलाई भुइँमै बस्नुपर्ने बाध्यता छ ।’

क्षमताभन्दा बढी बन्दी राखिँदा दैनिक जीवन असहज बनेको उनले बताइन् । ‘आफूहरूको कैद सजाय यातनाजस्तै भएको छ । न त आफूहरूको यहाँ स्वास्थ्यकै ख्याल छ न त कुनै सुविधा नै, त्यसमा पनि भवन जीर्ण छ ।’

क्षमताभन्दा अत्यधिक कैदीबन्दीका कारण ठूलै समस्या सिर्जना भएको कारागारमा जेलर बबिता महतो बताउँछिन् । भवन अभाव र त्यसमा पनि जीर्ण कारागारभित्र अत्यधिक कैदीबन्दी राखिएका कारण उनीहरूलाई कष्टकर जीवन बिताउनुपर्ने बाध्यता रहेको जेलर महतो बताउँछिन् ।

salt training

कमेन्ट गर्नुहोस्