
नेपाल र भारतका बीचमा देखिएका सीमासम्बन्धी समस्या छिटो समाधान गर्नुपर्नेमा जोड दिइएको छ ।
बौद्धिक वृत्त नेपालले शनिवार आयोजना गरेको ‘नेपाल–भारतसम्बन्धी अन्तक्र्रियात्मक विचार गोष्ठी’का सहभागी वक्ताले कूटनीतिक तवरले सम्भव नभए राजनीतिक तहबाट समस्याको छिटो समाधान गरिनुपर्ने विचार व्यक्त गरे ।
प्रबुद्ध व्यक्ति समूहका सदस्य सूर्यनाथ उपाध्यायले पछिल्लो समय भारतले आफ्नो नक्शामा राखेको कालापानी लिम्पियाधुराको विषय नेपालसँग भएका दस्तावेजका आधारमा समाधान गर्न सकिने बताए ।
काली नदीको मुहान लिम्पियाधुरा नै रहेको प्रमाण नेपालसँग सुरक्षित रहेकाले तथ्यका आधारमा कूटनीतिक एवं राजनीतिक तहबाट वार्ता गरी समस्याको समाधान गर्नुपर्ने उनको भनाइ थियो ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेता लीलामणि पोखरेलले २ वटा संसदीय समितिले सरकारलाई नेपालको वास्तविक नक्शा सार्वजनिक गर भनी निर्देशन दिँदा पनि गर्न नसक्नुका कारण के हो स्पष्ट पारिनुपर्ने बताए ।
‘अन्तर्राष्ट्रिय कूटनीतिलाई दह्रोसाथ अघि बढाउँदै राष्ट्रिय एकता कायम गरेर कालापानी, लिम्पियाधुरा, लिपुलेकलगायत सिमाना समस्या समाधान गरिनुपर्छ, तराई क्षेत्रको सीमा समस्यामा त्यहाँका जनता भिड्दा पनि सरकार मूकदर्शक बन्ने गरेको छ,’ उनले भने ।
भारतले सुस्ता हामी छोड्छौं कालापानी तिमीहरु छोड भनी प्रस्ताव राख्ने तयारी गर्न लागेको सूचना प्राप्त भएकाले सरकार सचेत हुनुपर्ने नेता पोखरेलको भनाइ थियो । कार्यक्रममा कञ्चनपुरका पूर्व जिल्ला विकास समिति सभापति ऋषिराज लुम्सालीले कैलाश मानसरोवर जाने पर्यटकलाई आफ्नो देशको बाटो हिँडाउन, काली नदीको पानीको अधिकतम् प्रयोग गर्नेलगायत कारणले भारतले यो भूमि मिच्न खोजेको बताए ।
‘पहिलेका राजा र अहिलेका नेतालाई कालापानी क्षेत्रमा भारतले सैनिक राखी सीमा अतिक्रमण शुरू गरेको थाहा छैन भन्छन् भने त्यो बेइमानी कुरा हो, भारतसँग कूटनीतिक नभई सिधै राजनीतिक तहबाट कुरा गरेर समस्या समाधान गरिनुपर्छ,’ उनले भने ।
कार्यक्रममा डा. जगतकुमार भुसाल, पुण्यप्रसाद ओली र रतन भण्डारीले भारतले सीमा मिचेको सम्बन्धमा तथ्य प्रमाण सहितको प्रस्तुति गर्दै नारायणी नदीको सुस्तालगायत स्थानमा भएको सिमानाको समस्या छिटो समाधान गरिनुपर्ने बताए ।
वृत्तका अध्यक्ष भरतराज पोखरेलले कालापानी क्षेत्रको सिमाना विवाद समाधान नभएसम्म विभिन्न जागरणमूलक कार्यक्रम जारी राखिने बताए ।