२४ जेठ २०८३, आइतबार

अपराधीको खास स्थान पत्ता लगाउन अत्याधुनिक डिभाइस जडान गरिँदै

पुस २७, २०७६
अपराधीको खास स्थान पत्ता लगाउन अत्याधुनिक डिभाइस जडान गरिँदै

नेपाल प्रहरीले अत्याधुनिक सिम लोकेटर अभ्यासमा ल्याउने भएको छ । आगामी वैशाखभित्रै अत्याधुनिक प्रविधि (डिभाइस) जडान गर्ने प्रहरीको तयारी छ । मोबाइल फोनको सिम (सब्स्क्राइबर आइडेन्टिटी मोडुल) कार्डमार्फत अपराधीको खास स्थान पत्ता लगाउन सहयोग पुग्ने प्रहरीको भनाइ छ । सो डिभाइस नेपाल प्रहरीअन्तर्गतको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) सँग रहनेछ । 

आगामी वैशाखभित्रै जडान गरिसक्ने गरी सिआईबीले डिभाइस जडानका लागि खुल्ला बोलपत्र आह्वानसमेत गरिसकेको छ । स्पेसिफिकेसनअनुसार टेन्डर हाल्न केही कम्पनी सहभागी भइसकेको प्रहरीले जानकारी दिएको छ । 

जडान गरिने डिभाइसले अपराधीको लोकेसन मात्र नभई, उनीहरूको मुभमेन्ट, स्पिड, समय र दिशासमेत पत्ता लगाउन सक्नेछ । साथै, मोबाइल सञ्चालनमा नआउँदा पनि सिमका आधारमा यो डिभाइसले वास्तविक स्थान ट्र्याक गर्न सक्नेछ । यसका लागि फोनमा कल हुनैपर्छ भन्ने छैन । सोहीअनुसार योजना बनाएर प्रहरीले अपराधीलाई पक्राउ गर्न सक्नेछ ।

गम्भीर प्रकृतिका अपराध अनुसन्धानमा सहज 
नेपाल प्रहरीका प्रवक्ता डिआईजी शैलेश थापाले गम्भीर प्रकृतिका अपराध अनुसन्धानमा सहजता ल्याउन सिआइबीले डिभाइस जडान गर्न लागिएको बताए । ‘सिआइबीमा सिम लोकेटर जडान गर्न लागिएको हो । यसले गम्भीर अपराधमा संलग्न अभियुक्तको खास स्थान ट्र्याक गर्न सहज हुन्छ । विभिन्न देशका प्रहरीले पनि यो प्रविधि प्रयोग गरिरहेका छन्, यो हाम्रा लागि नयाँ हो,’ उनले भने ।

प्रहरीसँग अहिले भएको ‘मोबाइल लोकेटर’ले अनुसन्धान गरिरहेको अभियुक्त कहाँ छ भनी ऊ रहेको क्षेत्र मात्रै पत्ता लगाउन सक्छ । तर, वास्तविक ठाउँ पत्ता लगाउन सक्दैन । न अभियुक्तको मुभमेन्ट, स्पिड, समय र दिशा नै पत्ता लगाउन सक्छ । जडान गरिन लागेको डिभाइसले अपराध अनुसन्धानलाई सहज बनाउने डिआइजी थापाले बताए । 

‘प्रहरीसँग अहिले पनि ट्र्याकिङ गर्ने सिस्टम नभएको होइन । तर, यसले अभियुक्तको लोकेसन पिनआउट गर्न सक्दैन, मात्रै एरिया पिनआउट गर्छ । सोही आधारमा अभियुक्त समात्ने हो । तर, अब जडान गर्न लागिएको डिभाइसले एक्ज्याक्ट लोकेसन नै पिनआउट गर्छ । यसबाट अपराध अनुसन्धानमा सघाउ पुग्नेछ,’ उनले भने । प्रहरीका अनुसार प्रयोगमा ल्याउन लागिएको सिम लोकेटर डिभाइसले मुलुकभरका सम्पूर्ण सिमकार्डलाई समेट्नेछ । 

कसरी काम गर्छ सिम लोकेटरले ? 
जडान हुने आधुनिक डिभाइस जिएनएसएस (ग्लोबल नेभिगेसन स्याटलाइट सिस्टेम)मा जोडिनेछ । यसले एकैपटक २४ भन्दा धेरै स्याट्लाइटसँग कम्युनिकेसन गर्न सक्नेछ । जसको सीधै सम्बन्ध जमिनमा भएको स्टेसनसँग हुनेछ । जसमार्फत अनुसन्धानमा लिइएको अपराधीबारे सूचना सिग्नलमार्फत आदान–प्रदान गरिनेछ । सोही कम्युनिकेसनमार्फत अपराधीको लोकेसन, स्पिड, समय र दिशा पत्ता लगाइनेछ ।  नयाँ पत्रिकामा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्