
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका केन्द्रीय समिति सदस्य डाक्टर शेखर कोइरालाले सूचना प्रविधि विधेयक लोकतन्त्र तथा विधिको शासनको विश्वव्यापी सिद्धान्त र मान्यताविपरित रहेको बताएका छन् ।
आइतवार एक विज्ञप्ति जारी गर्दै डाक्टर कोइरालाले संविधानले ग्यारेन्टी गरेका नागरिकको अभिव्यक्ति स्वतन्त्रता र प्रेस स्वतन्त्रता कुण्ठित गर्ने मनासयले विधेयक ल्याउन लागिएको प्रष्ट पारे ।
'सत्ता र शक्तिलाई लिखित, मौखिक वा सामाजिक संजालमा टिप्पणी गर्दा लेखक, पत्रकार, कार्टुनिष्ट, व्यंग्यकार र सर्वसाधारण नागरिकलाई जेल हाल्ने कानून ल्याइनु सर्वसत्तावादको पूर्वाभ्यास हो,' डाक्टर कोइरालाले आफ्नो विज्ञप्तिमा उल्लेख गरेका छन्, 'जन-आन्दोलनको जगमा स्थापित संघीय लोकतन्त्रिक गणतन्त्र कमजोर हुने काम जो कोहीबाट भए पनी त्यसको सशक्त प्रतिकार नेपाली कांग्रेसले गर्छ ।'
डाक्टर कोइरालाले यसको विरुद्धमा नागरिक समाज, बुद्धिजिवी, पेशागत संघ/संस्थालगायत सम्पुर्ण नागरिकहरु एक भएर उभिनुको बिकल्प नरहेको बताए ।
'यस विषयमा अन्तराष्ट्रिय समुदायको पनि ध्यान जान जरुरी छ,' डाक्टर कोइरालाले विज्ञप्तिमा उल्लेख गरेका छन्, 'यो विधेयकविपरित काम भएमा विश्वको जुनसुकै कुनाबाट पनि मुद्दा चलाउन सक्नेछ । प्रमाणिकरणको काम विदेशी कम्पनीले पनि पाउने भएपछि नेपाली तथ्यांकमा विदेशी कम्पनीको हालिमुहाली हुनसक्ने अवस्था पनि उत्तिकै छ ।'
उनले प्रस्तावित सूचना विधेयक विनाशर्त तत्काल फिर्ता लिएर सरोकारवालाहरुसँग भरपुर छलफल र परामर्श गर्न सरकारसँग जोडदार आग्रह गरेका छन् ।