
सरकारले सीजी कम्युनिकेसनमाथि प्रतिशोधपूर्ण व्यवहार गरेको भन्दै नेपाली काँग्रेसले असन्तुष्टी जनाएको छ ।
पार्टी प्रवक्ता विश्व प्रकाश शर्माले आइतवार एक विज्ञप्ति जारी गर्दै सरकारले सीजी कम्युनिकेसनमाथि नियतबस भेद गरेको र निरुत्साहित गर्ने प्रयास गरेको आरोप लगाएका हुन् ।
विज्ञप्तिमा भनिएको छ, 'सरकारले नै गत वर्ष आयोजना गरेको लगानी सम्मेलनमा सरकारकै उपस्थितिमा विदेशी साझेदारसँग सिजी कम्युनिकेशनले सम्झौता गरेको, सम्पूर्ण प्रकृया पूरा गरिएको र कुनै वक्यौता रकम नरहेको स्थितिमा प्राधिकरण मार्फत प्रकृया टुंग्याएर अनुमति दिनुपर्ने विषय स्वयं सरकारकै प्राथमिकतामा नपर्नु कुनै निश्चित पूर्वाग्रह देखिन्छ । नियतबस गरिएको यस्तो भेद र निरुत्साहित गर्ने प्रयत्नप्रति नेपाली कांग्रेस खेद प्रकट गर्दछ ।'
कांग्रेसले निजी क्षेत्रलाई समान व्यवहार गर्न, राजश्व संकलनमा कुनै मोलाहिजा र उन्मुक्ति नदिन वस्तुगत मूल्याङ्कनको आधारमा कम्पनी संचालनको अनुमति, प्रोत्साहन र राजश्व संकलनमा कुनै सम्झौता नगर्न सरकारसँग माग समेत गरेको छ ।
यस्तै विज्ञप्तिमा प्रधानमन्त्रीले भ्रष्टाचार गर्दिन र भ्रष्टाचारीको मुख हेर्दिन भनेर पटक–पटक उद्घोष गरेपनि उनकै कार्यकालमा अनियमितता, बेथीति र भ्रष्टाचार बढेको बताएको छ ।