
प्रदेश नम्बर ३ को स्थायी राजधानी हेटौंडा तोकिएको छ ।
प्रदेश सभामा आइतवार भएको मतदानमा राजधानी हेटौंडा राख्ने प्रस्ताव दुईतिहाइभन्दा बढी मतले पारित भएको हो ।
मुख्यमन्त्री समेत रहेका नेकपा संसदीय दलका नेता डोरमणि पौडेलले राखेको उक्त प्रस्तावको पक्षमा १ सय ५ मत पर्यो ।
विपक्षमा जम्मा ३ सांसदले मतदान गरे । १ सय १० सदस्यीय प्रदेश सभामा १ सय ८ सांसद मतदानमा सहभागी भएका थिए ।
यसअघि विवेकशील नेपाली दलका रमेश पौडेलले काभ्रेको धुलिखेललाई राजधानी बनाउनुपर्ने भनी दर्ता गरेको प्रस्ताव अस्वीकृत भएको थियो ।
उक्त प्रस्तावको पक्षमा जम्मा ३ मत पर्दा विपक्षमा १ सय १ सांसदले मतदान गरे । सो प्रस्तावमाथिको मतदानमा जम्मा १ सय ४ सांसद सहभागी भएका थिए ।
प्रमुख सत्तारुढ दल नेकपा केन्द्रीय सचिवालयको निर्देशन र प्रदेश संसदीय दलको निर्णयबमोजिम पौडेलले प्रदेशको स्थायी राजधानी हेटौंडा राख्ने प्रस्ताव दर्ता गराएका थिए ।
पार्टीभित्र तीव्र असन्तुष्टिका बावजुद् नेपका संसदीय दलले प्रदेशको नाम बाग्मती र राजधानी हेटौंडा राख्ने निर्यण गरेको थियो ।
यसअघि गण्डकी, कर्णाली र सुदूरपश्चिमले नामाकरण र राजधानी तोक्ने काम सम्पन्न गरिसकेका छन् ।
प्रदेश १, २ र ५ ले भने अझै पनि नामाकरण गर्ने काम र राजधानीको टुंगो लगाउन सकेका छैनन् ।