नेपाली सेनाले २९८औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा सैनिक मुख्यालय जङ्गी अड्डाको मुख्य भवन अगाडि अवस्थित राष्ट्र निर्माता पृथ्वीनारायण शाहको शालिकमा पुष्पहार अर्पण गरेको छ ।
सो अवसरमा आयोजित विशेष समारोहमा प्रधानसेनापति पूर्णचन्द्र थापाले राष्ट्र निर्माताको योगदानको स्मरण गर्दै उनको शालिकमा पुष्पहार अर्पण गरी सम्मान प्रकट गरे।
उक्त अवसरमा सैनिक एक टुकडीले राष्ट्र निर्माताको सम्मानमा सलामी अर्पण गरेको थियो । कार्यक्रममा सैनिक उच्च अधिकृतले पनि उहाँप्रति पुष्पगुच्छा अर्पण गरे।
विसं १७७९ पुस २७ गते गोरखामा जन्मिएका पृथ्वीनारायण शाहले स–साना राज्यलाई एकीकरण गरी आधुनिक नेपाल निर्माण गरेका थिए । तत्कालीन नेपालको अवस्थालाई विश्लेषण गर्दै पृथ्वीनारायण शाहबाट भएको दिव्योपदेश अहिले पनि उत्तिकै सान्दर्भिक रहेको भनी दूरदृष्टि व्यक्तिका रूपमा उहाँको सर्वत्र प्रशंसा हुँदै आएको छ ।
राष्ट्र निर्माताको २९८औँ जन्मजयन्तीका अवसरमा आइतवार मुलुकभर विभिन्न कार्यक्रमको आयोजना गरी राष्ट्रिय एकता दिवस भव्यताका साथ मनाइँदैछ ।
२९८औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा आइतबार भद्रकालीस्थीत नेपाली सेनाको मुख्यालयमा रहेको पृथ्वीनारायण शाहको शालिकमा सलामी अर्पण गर्दै ।