
बेलायतको राजपरिवारले सोमवार एक बैठक गरेर ड्युक अफ ससेक्स प्रिन्स ह्यारी र उनकी पत्नी मेगनको भविष्यका विषयमा छलफल गर्ने भएका छन् । यस जोडीले राजपरिवारको वरिष्ठ सदस्यका रूपमा आफूहरूले निर्वाह गर्दै आएको भूमिकाबाट पछि हट्ने घोषणा अघिल्लो साता गरेका थिए ।
महारानी एलिजाबेथ द्वितीया, राजकुमार चार्ल्स, राजकुमार विलियम, राजकुमार ह्यारी महारानीको स्यान्डरिंघम इस्टेटमा भेटघाट गर्ने एक स्रोतले सीएनएनलाइ बतायो । डचेज अफ ससेक्स मेगनले क्यानडाबाटै उक्त बैठकमा कल गर्ने अपेक्षा छ ।
विगत केही दिनयता लगातार भइरहेको बैठक र परामर्शपछि यस बैठकको खबर आएको हो । ह्यारी र मेगनको जोडीले बुधवार आफ्नो घोषणामा आफ्नो भविष्यका विषयमा सबै कुरा बताइसकेकाले राजपरिवारले अनेकौं सम्भावनालाई समीक्षा गर्दैछ ।
राजपरिवारको कुनै पनि सदस्यको जीवनयात्रा तथा भूमिकाका आउने परिवर्तनलाई जटिल र सोचविचारपूर्ण परामर्श आवश्यक हुन्छ । महारानी एलिजाबेथले यसलाई छिटछिटो टुंग्याउनुपर्ने इच्छा व्यक्त गरेकी छन् ।
ह्यारी र मेगनले महारानीको इच्छाविपरीत राजपरिवारको कर्तव्यबाट पछि हट्ने, वित्तीय स्वतन्त्रता खोज्ने अनि बेलायत र उत्तर अमेरिकाका बीचमा आफ्नो समय खर्चिने घोषणा गरेका छन् ।
घोषणापछि मेगन क्यानडा फर्केकी छन् र आफ्नी आमासँग समय बिताइरहेकी छन् । मेगन क्यानडाबाट बेलायत फर्किने नफर्किने कुरा स्पष्ट छैन ।
सीएनएनबाट