न्युयोर्कको स्कार्सडेलमा बस्ने १७ वर्षीय वुल्फ ककियरले हाईस्कूल सिध्याउन एक वर्ष मात्र बाँकी हुँदा अन्तरिक्ष नियोग नासामा इन्टर्नशिपको अवसर पाए । त्यसपछि उनी मेरील्यान्डको ग्रीनबेल्टमा रहेको गोडार्ड स्पेस फ्लाइट सेन्टर पुगे ।
त्यहाँ पुगेको तेस्रो दिनमै ककियरले दुईवटा तारालाई घुम्ने एक ग्रह पत्ता लगाए ।
टीओआई १३३८बी नाम दिइएको उक्त ग्रह पृथ्वीभन्दा लगभग सात गुणा ठूलो छ र त्यसका दुई तारा छन् । एउटा तारा हाम्रो सूर्यभन्दा १० प्रतिशत ठूलो छ अनि अर्को चाहिँ सूर्यको मासको एक तिहाइ मात्र छ र कम चम्किलो छ ।
ककियरले दोस्रोपटक स्पेस रिसर्च लेबोरेटोरीमा इन्टर्न गरेका हुन् । सन् २०१८ को ग्रीष्ममा उनले नासाको एयरोस्पेस टेक्नोलोजीका अनुसन्धाता रवि कोप्परापुको प्रशिक्षणमा गोल्डीलक्स जोन प्रोजेक्टमा काम गरेका थिए ।
वुल्फलाई स्पेस फ्लाइट कम्प्लेक्समा फेरि इन्टर्न गर्न बोलाइयो तर निर्देशन दिन कोप्पारापु उपलब्ध थिएनन् । वुल्फलाई नासाका रिसर्च सायन्टिस्ट भेसेलिन कोस्तोभको प्रशिक्षणमा राखियो ।
वुल्फले नासाको ट्रान्जिटिङ एक्सोप्लानेट सर्भे स्याटेलाइटमा काम गरेको कोस्तोभको भनाइ छ ।
त्यसक्रममा एउटा तस्वीर हेर्दा वुल्फले अनौठो कुरा देखे र कोस्तोभलाई त्यसको बारेमा बताए ।
त्यसपछि वुल्फ र कोस्तोभले घन्टौंसम्म डेटासेटहरूमार्फत त्यसका थप फीचरहरू भेरिफाई गरे ।
त्यसको दुईदेखि तीन महिनापछि वुल्फले पत्ता लगाएको कुरा नयाँ ग्रह भएको पुष्टि भयो ।
वुल्फले ग्रहको नाम राख्न त पाएनन् तर उनका दाइले त्यसलाई वुल्फटोपिया नाम दिए ।
वुल्फले हाईस्कूल सकेपछि प्रिन्सटन विश्वविद्यालय, स्ट्यानफोर्ड विश्वविद्यालय र एमआईटी जस्ता प्रतिष्ठित शैक्षिक संस्थामा पढ्ने सोच बनाएका छन् । त्यहाँ हुने अन्तरिक्ष भौतिकशास्त्र वा भौतिकशास्त्र अध्ययन गर्नेछन् ।
एजेन्सी