बेलायतकी महारानी एलिजाबेथले आफ्ना नाति ह्यारी र उनकी पत्नी मेगनलाई स्वतन्त्र बस्नका लागि अनुमति दिएकी छन् । उनीहरूले राजपरिवारबाट टाढा रही स्वतन्त्र जीवन बिताउन चाहेपछि परिवारमा आएको संकटका विषयमा सोमवार छलफल भएको थियो ।
ह्यारी र मेगनले अब संक्रमणकालीन समय बिताउनेछन् । त्यस अवधिमा उनीहरू बेलायत र क्यानडा आउजाउ गर्नेछन् । अनि उनीहरू राजपरिवारको दायित्वको भारले नथिचिएको जीवनशैली अपनाउन खोज्दैछन् र जनताको करबाट उठेको पैसामा निर्भर हुन चाहँदैनन् ।
९३ वर्षीया रानी एलिजाबेथले ह्यारी, उनका दाइ विलियम र उनीहरूका बुवा प्रिन्स चार्ल्ससँगको सकारात्मक संवाद गरेकी थिइन् । संवाद पूर्वी इंग्ल्यान्डको ग्रामीण क्षेत्र स्यान्डरिंघम इस्टेटमा भएको थियो ।
महारानीले एक वक्तव्य जारी गरेर ह्यारी र मेगनको भविष्यका विषयमा अन्तिम निर्णय केही दिनमा लिने बताएकी छन् ।
मेगन अहिले छोरो आर्चीका साथ क्यानडामा बसिरहेकी छन् ।
ह्यारी र मेगनले अघिल्लो साता राजपरिवारको कर्तव्यभारबाट मुक्त हुन चाहेको र उत्तर अमेरिकामा बढी समय बिताउन चाहेको सार्वजनिक घोषणा गरेपछि राजपरिवारमा संकट आएको थियो ।
रोयटर्सबाट