२६ जेठ २०८३, मंगलबार

१०६ वर्षे उमेरमा मोतियाविन्दुको शल्यक्रिया, आँखा खुलेपछि खुशी

१०६ वर्षे उमेरमा मोतियाविन्दुको शल्यक्रिया, आँखा खुलेपछि खुशी

भरतपुर आँखा अस्पतालको बहिरङ्ग सेवामा मंगलवार बिहान भेटिएका एक वृद्ध निकै खुशी देखिन्थे । १०६ वर्षको उमेरमा १ साताअघि आफ्नो देब्रे आँखाको मोतियाविन्दुको शल्यक्रियापछि आँखा देखेसँगै उनमा खुशी थपिएको हो । 

भरतपुर महानगरपालिका–२ क्षेत्रपुर निवासी पुननारायण श्रेष्ठको यो उमेरमा सफल शल्यक्रिया भएपछि उनी निकै खुशी भएका छन् । रासस प्रतिनिधिले मान्छे चिन्नुहुन्छ भन्न नपाउँदै उनले भने, ‘तपाईंले लगाएको जकेट कालो रहेछ, पर बसेकाहरूलाई पनि देखेको छु ।’ १ वर्षअघिदेखि धमिलो हुँदै गएको आँखाले पछिल्लो समय देख्न छाडेपछि उनी चिन्तित थिए ।

उनलाई आँखाको शल्यक्रिया गर्न नजिकै घर भएकी भरतपुर आँखा अस्पतालमा कार्यरत छायाँ श्रेष्ठले सुझाव दिइन् । त्यति मात्रै होइन, छायाँले अस्पतालका डा. मारिया गौतमसँग परामर्श गरेर शल्यक्रियाको प्रबन्ध पनि मिलाइदिइन् ।
सफल शल्यक्रियापछि निकै उत्साहित हुँदै वृद्ध श्रेष्ठले आफूले जीवनमा पुनः आँखा देख्ने अवसर पाएको भन्दै खुशी व्यक्त गरे ।

‘उपचार गरे हुँदोरहेछ,’ उनले भने । उनीसँगै रहेका जेठा छोरा नारद श्रेष्ठले डोराएर हिँड्नुपर्ने बुबा आफैं हिँड्न थालेपछि निकै खुशी भएको बताए । अस्पतालका चिकित्सक डा. गौतमले वृद्धहरूको शल्यक्रिया कठिन हुने भएपनि बिरामीले चाहेमा सफल शल्यक्रिया गर्न सकिने बताए । आफ्नो जीवनमा यति धेरै उमेरका व्यक्तिको शल्यक्रिया गरेको भने पहिलो भएको उनले बताए ।

उपचारमा उमेरले नछेक्ने भएकाले आत्मबल उच्च गरेर उपचार गर्न आउन गौतमले आग्रह गरे । भरतपुर आँखा अस्पतालले गत आर्थिक वर्षमा ८ जिल्लाका १ लाख ७१ हजार ४०० जनाको आँखाको उपचार गरेको थियो ।

अस्पतालले विभिन्न जिल्लामा शिविर सञ्चालन र अस्पताल एवं आँखा उपचार केन्द्रमार्फत बिरामीको उपचार गर्दै आएको छ । 
 
अस्पतालका सूचना अधिकारी रमेश घिमिरेका अनुसार भरतपुरमा रहेको मुख्य अस्पताल र भरतपुर हाइटमा रहेको बहिरङ्ग विभागमार्फत १ लाख १८ हजार ४५५ बिरामीको आँखाको उपचार गरिएको हो । ९ आँखा उपचार केन्द्रमार्फत पनि अस्पतालले सेवा दिइरहेको छ । विभिन्न जिल्लामा गरिएका शिविरमार्फत २२ हजार ९८५ को आँखाको उपचार गरिएको छ । 

नेपाल नेत्रज्योति संघद्वारा सञ्चालित सो अस्पतालले गत आवमा ५ हजार ६९६ जनाको आँखाको शल्यक्रिया गरेको थियो । अस्पतालका अध्यक्ष कृष्णराज धरेलका अनुसार हरेक वर्ष बिरामीको संख्या बढ्दै गएको छ ।

वृद्धहरूको पनि सफल शल्यक्रिया हुने भएकाले अन्धकारमा जीवन नबिताउन सबैमा आह्वान गरिएको बताउँदै उनले त्यस्ता व्यक्तिको उपचारमा अस्पतालले प्राथमिकता दिएको बताए ।

salt training

कमेन्ट गर्नुहोस्