
भारतको सर्वोच्च अदालतले निर्भयाको सामूहिक बलात्कारको केसमा दुई दोषीहरूले दिएको क्युरेटिभ पेटिसन मंगलवार खारेज गरेको छ ।
यससँगै चारै दोषीका लागि फाँसीको बाटो खुलेको छ । फाँसी माघ ८ गते दिइने यसअघि नै फैसला भइसकेको छ ।
न्यायाधीशहरू एनभी रमना, जस्टिस अरुण मिश्रा, रोहिंटन फली नरीमन, आर भानुमति, अशोक भूषणको इजलासले विनय शर्मा र मुकेशको निवेदनमाथि सुनुवाइ गरे । उनीहरूले फाँसीबाट बच्नका लागि क्युरेटिभ पेटिसन दायर गरेका थिए ।
त्यसअघि निर्भयाकी आमाले दोषीहरूको फाँसी प्रक्रियालाई रोक्नका लागि दायर गरिएको क्युरेटिभ पेटिसन खारेज हुने आशा लिएको बताएकी थिइन् ।
क्युरेटिभ पेटिसनमा दोषी विनय शर्माले आफूलाई मात्र नभई आफ्नो परिवार नै यस केसका कारण पीडित बनिरहेको बताएका थिए । परिवारको गल्ती नभएपनि सामाजिक प्रताडना र अपमान सहनुपरेको उनले बताए । अनि वकिल एपी सिंहले निवेदकमा आमाबुवा वृद्ध र गरीब भएको अनि केसको चक्करमा उनीहरूको सबै कुरा बर्बाद भएको र अब छोरो पनि मर्न लागेको जिकिर गरेका थिए ।
एजेन्सी