यो वर्ष जाडो मौसम लम्बिएको छ। यो वर्ष मंसिरमा पहिलो हिउँदे वर्षा भएसँगै गत वर्षभन्दा बढी चिसो भएकोमा यो बीचमा पटकपटक वर्षा हुनुका साथै हिमपात भएको छ।
मंगलबार मात्र पश्चिम नेपालका तराईका जिल्लामा वर्षा भएको थियो। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार फेरि बुधबारदेखि देशका धेरै ठाउँमा वर्षा हुने देखिएको छ।
महाशाखाले मंगलबार विशेष बुलेटिन जारी गरेर बुधबार साँझ नेपाल प्रवेश गर्ने पश्चिमी न्यूनचापीय प्रणालीका कारण वर्षा र हिमपातको प्रक्षेपण गरेको हो।
बुधबार राति देशको पश्चिमी क्षेत्रमा सामान्य बदली रही केही ठाउँमा पानी पर्ने जानकारी दिएको हो । साथै उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
यस प्रणालीका कारण बिहीबार काठमाडौँसहित मध्य र पश्चिमी क्षेत्रमा सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भेगका धेरै ठाउँमा भारी हिमपातको सम्भावना रहेको बुलेटिनमा उल्लेख छ।
यो प्रणालीको प्रभाव शुक्रबारसम्म रहने छ।
यस्ताे छ तीन दिनकाे माैसम पूर्वानुमान
बुधबार साँझ (माघ १ गते) बाट नेपाल प्रवेश गर्ने पश्चिमी न्यून चापीय प्रणालीका कारण बुधबार राती देशको पश्चिमी क्षेत्रमा सामान्य बदली रही थोरै स्थानहरुमा हल्का वर्षा हुनुका साथै उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपात को सम्भावना रहेको छ।
यो प्रणालीका कारणले बिहीबार देशको मध्य तथा पश्चिमी क्षेत्रमा सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भेगका धेरै स्थानहरुमा हल्का देखी मध्यम हिमपात हुनुका साथै थोरै स्थानहरुमा भारी हिमपातको सम्भावना रहेको छ। साथै मध्य तथा पश्चिमी पहाडी तथा तराईका केही स्थानहरुमा हल्का देखि मध्यम वर्षा र सोहि भु-भागका १-२ स्थानहरुमा भारी वर्षाको संभावना समेत रहेको छ। देशको पूर्वी भु-भागमा बिहिवार आंशिक देखि सामान्य बदलि भई १-२ स्थानहरुमा हल्का वर्षा/हिमपातको संभावना रहेको छ।
यस प्रणालीको प्रभाव देशभर शुक्रबार सम्म नै रहने र शुक्रबार समेत वर्षा र हिमपातको संभावना रहेकोले आवश्यक सतर्कता अपनाउनु हनु अनुरोध छ ।