
नेपाल टिप्पर तथा ट्रक व्यवसायी समितिले गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणमा सहयोग पुर्याउन १०० टिप्पर बालुवा निःशुल्क ढुवानी गर्ने भएको छ ।
समितिले धुर्मुस–सुन्तली फाउन्डेसनले जनस्तरबाट संकलित रकमबाट चितवनमा निर्माणाधीन रंगशालालाई धादिङको गल्छी गाउँपालिकाले उपलब्ध गराएको १०० टिपर वालुवा निःशुल्क ढुवानी गर्न लागेको हो ।
फाउन्डेसनका अध्यक्ष सिताराम कट्टेल र समितिका अध्यक्ष रामकुमार चापागाईंबीच मंगलवार सम्झौता समेत भएको छ । समितिका संस्थापक अध्यक्ष यादवलाल श्रेष्ठले अन्तर्राष्ट्रिय स्तरको रंगशाला निर्माणका लागि टिप्पर तथा ट्रक व्यवसायीले थोरै भएपनि सहयोग गर्न उक्त निर्णय गरेको जानकारी दिए ।
पछिल्लो समय खेल मैदान निर्माणका गर्न अन्तर्राष्ट्रियस्तरका विज्ञसँग सम्झौता गरिँदैछ । फाउन्डेसनका अध्यक्ष सीताराम कट्टेलले रंगशाला निर्माणले निरन्तरता पाएको जानकारी दिए ।
रंगशालाको आकार आउने गरी काम अघि बढेको छ । मैदान, संरचनाको जग राख्ने काम, ढल निकासको काम भइरहेको उनले जानकारी दिए । रंगशालामा नमूना खेल मैदान निर्माण गरी मैत्रीपूर्ण खेलसमेत भइरहेका छन् । ५० ओभरका तीनवटा पिच तयार भएर तीनै खेलमैदानमा खेल भएका हुन ।
रंगशाला सम्पन्न हुँदै गर्दा सो ठाउँ पार्किङ हुनेछ । रंगशालामा देशका ७७ जिल्लाको अपनत्व हुने गरी नक्सांकन गरिएको छ । रंगशालाको विभिन्न कक्षलाई जिल्लाबाट नामकरण गरिएकोे छ ।
रंगशाला सम्पन्न गर्न २ अर्ब ५० करोड खर्च हुने अनुमान गरिएको छ ।