०६ साउन २०८३, बुधबार

चीनमा खानै नपाइकन मरिन् एक युवती

चीनमा खानै नपाइकन मरिन् एक युवती

चीनको दक्षिणपश्चिममा रहेको तोनग्रेन शहरमा एक विद्यार्थी अत्यन्तै गरीब भएका कारण खाना खान नपाएर मरेकी छन् । कुपोषणका कारण उनको मृत्यु भएपछि संसारको दोस्रो ठूलो अर्थतन्त्रमा गरीबीको विषयमा बहस उठेको छ । 

वु हुआयान नामक ती २४ वर्षीया विद्यार्थीको मृत्यु गुइझु मेडिकल विश्वविद्यालयको अस्पतालमा भएको हो । 

उनी गुइझु फोररनर कलेजमा तेस्रो वर्षमा अध्ययन गरिरहेकी थिइन् । उनी ४ फीट ४ इन्चकी थिइन् र उनको तौल जम्मा २१.६ किलो भएको तोनग्रेन नगरपालिकाले गत अक्टोबर महिनामा जनाएको थियो । 

वुका मातापिताको मृत्यु भइसकेको छ र उनी भाइसँग बस्थिन् । उनी सरकारले प्रत्येक महिना उपलब्ध गराउने ३०० युआनमा बाँच्ने गर्थिन् । उनको भाइलाई मानसिक रोग लागेको छ र भाइको उपचारका लागि पैसा जोगाउन उनले एकदमै कम खाने गर्न थालेकी थिइन् । 

गत अक्टोबर महिनामा गोडा सुन्निएपछि वुलाई अस्पतालमा भर्ना गरिएको थियो । 

वुले बिहानको खाना नियमित रूपमा छोड्ने गरेको र अरू बेला पनि घरमा थोरै भात र खुर्सानी मात्र खाने गरेको बेइजिङ युथ डेलीले लेख्यो । 

अस्पतालका चिकित्सकले वुको मुटुको भल्भ क्षतिग्रस्त भएको र सर्जरी गर्नका लागि दुई लाख युआनभन्दा बढी खर्च लाग्ने बताए ।

उनको दुःखले देश स्तब्ध भएपछि बेइजिङमा रहेको परोपकारी संस्थाले चन्दा उठाउने अभियान चलाएको थियो । उसले शल्यक्रियाका लागि आवश्यक रहेकोभन्दा तीन गुणा बढी रकम उठाइसकेको छ ।

तर चन्दा उठेको भए पनि वुको स्वास्थ्य एकदमै बिग्रेपछि सोमवार निधन भयो । 

वुको मृत्युपछि चीनको वीबो नामक सामाजिक सञ्जालमा प्रयोगकर्ताहरूले उनलाई बचाउनका लागि सरकारले किन पर्याप्त प्रयास नगरेको भनी प्रश्न गरे ।

सीएनएनबाट
 

salt training

कमेन्ट गर्नुहोस्