मंगलवार दिलीप शाहले भावविभोर भएर आफ्नी आमाको चेन मुट्ठीमा कसे । त्यो चेन उनले ३३ वर्षअघि देखेका थिए ।
उनकी आमा सन् १९८६ मा मन्दिर जाँदै गर्दा कसैले चेन लुटेको थियो । यो केस लामो समयसम्म सुल्झिएन र दिलीपकी आमाको मृत्युपछि परिवारले यसका विषयमा प्रहरीलाई सोध्नै छोड्यो ।
अघिल्लो साता शाहलाई रेलवे प्रहरी कमिस्नरले छिट्टै चेन दिइने सूचना दिए ।
मंगलवार शाहसँगै १०४ जनाले वर्षौंअघि चोरिएका गहना, पैसा र विद्युतीय उपकरणहरू फिर्ता पाए । ती सबैको संयुक्त मूल्य एक करोड भारु थियो ।
‘मेरी आमाको चेन लुटिँदा म लगभग ३० वर्षको थिएँ । सन् १९८६ तिरको घटना हो यो,’ कपडा व्यापारी शाहले बताए । ‘आमाको अन्तिम अवस्था आएपछि स्वास्थ्य एकदमै बिग्रिएको थियो र हामी उहाँ गइरहने जैन मन्दिर नजिक घर किनेर बस्न थाल्यौं ।’
त्यतिबेला प्रहरीले केस बन्द गरिदिएको थियो । तर पछि केस फेरि खोलिएछ ।
‘दुई वर्षअघि प्रहरीले हाम्रो पहिलेको ठेगानामा पत्र पठाएछ । पत्रमा आमाको लुटिएको चेन फेला परेको लेखिएको छ । म चेन फिर्ता पाउनका लागि धेरैपटक प्रहरी चौकी र अदालत धाएँ । तर अदालतले आदेश दिन धेरै समय लगायो,’ शाहले भने ।
शहका ९३ वर्षीय पिता पत्नीको चेन देखेपछि भावविह्वल भए ।
शाह परिवारले यो चेन मन्दिरलाई भेटी चढाउने योजना बनाएको छ ।
एजेन्सी