०९ साउन २०८३, शनिबार

प्रदेश सांसदलाई शपथ खुवाउने ज्येष्ठ सदस्य पोखरेल क्यान्सरले थलिए, एक वर्षदेखि अस्पतालमा

माघ २, २०७६
प्रदेश सांसदलाई शपथ खुवाउने ज्येष्ठ सदस्य पोखरेल क्यान्सरले थलिए, एक वर्षदेखि अस्पतालमा

जसले ५ नम्बर प्रदेश सभाको पहिलो बैठक २०७४ माघ २१ गते सञ्चालन गरेर चर्चा बटुले उनै विपक्षी दलका नेता बलदेव शर्मा पोखरेल अहिले क्यान्सर रोगले उठ्नै नसक्ने गरी थलिएका छन् ।

ज्येष्ठ सदस्यका हैसियतले प्रदेश सभामा सभामुखको भूमिका निभाउँदा उनको चौतर्फी चर्चा पनि भयो । संसदको पहिलो बैठक सञ्चालन गरेपछि उनले सभामुख बन्ने तीब्र इच्छा पनि देखाए तर कांग्रेसको सांसद भएकाले त्यो अवसर पाएनन् ।

विपक्षी दलको नेता चयन गर्न लामै रस्साकस्सी भएपनि उनलाई सहमतिमै कांग्रेसले दलको नेता चयन गर्‍यो । ८२ वर्षीय पोखरेल मृत्यसँग अन्तिम संघर्षरत छन् ।

गत वर्ष माघमा छातीमा संक्रमण देखिएर काठमाडौंस्थित नर्भिक हस्टिलमा चेकजाँच गर्दा उनलाई फोक्सोको क्यान्सर देखिएको थियो । काठमाडौंमा लामो समय उनको उपचार भयो । गएको पुस २३ गते काठमाडौंबाट घर ल्याइएका उनको समस्या बढ्दै गएपछि अहिले क्रिमसन हस्पिटल रुपन्देहीमा आईसीयूमा भर्ना गरेर राखिएको छ । 

क्रिमसन अस्पतालका वरिष्ठ फिजिसियन डा.राकेश आस्वानीले पोखरेललाई अब निको हुने सम्भावना कम रहेका लोकान्तरलाई जानकारी दिए । उनले भने, ‘फोक्सोबाट शुरू भएको क्यान्सर टाउको, हड्डी हुँदै शरीरभर फैलिएको छ । त्यो अब निको हुने सम्भावना छैन । कतिखेर आँखा खोलेर आवाज निकाल्न पनि सक्नुहुन्न । कति बाँच्नुहुन्छ ? अब भगवानकै हातमा छ ।’ 

उनको ७ पटकसम्म किमोथेरापी गरिसकिएको छ । उनी प्रदेशको बजेट अधिवेशनमा पनि जान सकेनन् । यही माघ ५ गतेदेखि प्रदेशको हिउँदे अधिवेशन शुरू हुँदैछ । 

काठमाडौंबाट घर ल्याइएको केही दिनमा रगतमा प्लेटलेट कम भएर बेहोस भएपछि उनलाई क्रिमसन हस्पिटल ल्याइएको थियो । रुपन्देहीको तिलोत्तमा–१४ खैरियाका ८२ वर्षीय पोखरेल कांग्रेसका समानुपातिक सांसद हुन् । पुस अन्तिम साता मुख्यमन्त्री शंकर पोखरेलले पनि अस्पतालमा पुगेर नेता पोखरेलको स्वास्थ्य अवस्था बुझेका थिए । 

भेटका लागि नेतादेखि सांसद र मन्त्री पनि अस्पताल पुग्ने गर्छन् । प्रदेश सरकारले उनको उपचारको लागि ५ लाख रुपैयाँ उपलब्ध गराइसकेको छ । उनको उपचारमा हालसम्म १५ लाख रुपैयाँभन्दा बढी खर्च भइसकेको परिवारले जनाएको छ । 

पोखरेलका छोरा मुक्तिले बाबाको अवस्था अचेत रहेको बताए । ‘क्यान्सर शरीरभर फैलिइसकेको छ भनेर डाक्टरले भन्नुभएको छ । मुख्यमन्त्रीले पनि भेटेर उपचारमा कुनै कमी हुन नदिनुहोस् प्रदेश सरकारले सहयोग गर्छ भनेर जानुभएको छ । हेरौं के हुन्छ,’ उनले भने ।

विक्रम संवत् १९९४ माघ १९ गते प्युठानको तुसारामा जन्मिएका पोखरेल २०२० सालमा बसाइसराई गरी रुपन्देही झरेको थियो । उनले २०१३ सालदेखि नेपाल छात्र संघबाट कांग्रेसको राजनीति शुरू गरेको पोखरेलका भाइ ईश्वरचन्द्र पोखरेलले बताए । 

‘२०१५ सालमा संसदीय निर्वाचनमा उमेर नपुगेकै कारण ८५ नम्बर क्षेत्रमा दाइ चुनाव लड्न पाउनुभएन,’ भाइ ईश्वरचन्द्रले भने, ‘२०१८ सालमा २ वर्ष नेपालगञ्जमा जेल पनि पर्नुभयो ।’

रूपन्देहीमा उनी २०२६ सालदेखि १० वर्ष (२०३६ सम्म) पार्टीको जिल्ला सचिव भए । पोखरेल जिल्ला सदस्य हुँदै आमन्त्रित केन्द्रीय सदस्य, महासमिति सदस्य र महाधिवेशन प्रतिनिधि हुँदै वरिष्ठ नेताको रुपमा निरन्तर पार्टीमा सक्रिय नेता हुन् । ईश्वरचन्द्रले रुपन्देहीमा कांग्रेसको राजनीति नेता बलदेवले नै शुरू गएको बताए ।

‘वास्तवमा रुपन्देहीका कांग्रेसको जग बसाल्ने नेता नेतामा दाइ (बलदेव) र डिल्लीरमण शर्मा मोहनदत्त काफ्लेले हो,’ उनले लोकान्तरसँग भने । स्व. प्रधानमन्त्री सुशील कोइराला प्रधानमन्त्री हुँदा पोखरेलले स्वतन्त्रता सेनानीको सम्मान पनि पाएका थिए ।

प्रदेश सभाले खरिद गरेका गाडीमा भ्रष्टाचार भएको पाइएपछि पोखरेलले आफूले चढ्दै आएको गाडी प्रदेशसभा सचिवालयमा फिर्ता गरेर रिक्सा चढेर घर फर्किएका थिए ।

फर्जी कागज देखाएर प्रदेश लोकसेवा आयोगको सदस्यमा आफ्नै बुहारी राहेल पोखरेललाई नियुक्त गरेपछि उनी विवादमा पनि तानिए ।

कांग्रेस सांसद वीरबहादुर रानाले प्रदेश सभामा कांग्रेसको भूमिका कमजोर देखिएको भन्दै अझै विपक्षी दलको नेता बिरामी हुँदा झनै समस्या बढ्ने बताए । ‘उहाँको स्वास्थ्य लाभको कामना गरौं । अब पार्टीले गम्भीर रुपमा सोच्नुपर्छ,’ उनले भने । 

पोखरेलले उत्तरमध्यमा अर्थात् १२ कक्षासम्म अध्ययन गरेका छन् । पोखरेलका २ पत्नी ४ छोरा र २ छोरी छन् । उनकी जेठी पत्नी कमलाको मृत्यु भइसकेको छ ।

salt training

कमेन्ट गर्नुहोस्