सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा सरकारका प्रवक्ता गोकुलप्रसाद बास्कोटाले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको समूहमाथि प्रतिबन्ध लगाइएको विषयलाई पछिल्ला घटनाक्रमले पुष्टि गरेको बताएका छन्।
‘लुकेर गतिविधि गर्ने भएकाले हामीले पहिल्य नै भनेका हौँ, विप्लब समूहको गतिविधि आतंककारी क्रियाकलाप हो,’ बिहीबार आयोजित नियमित पत्रकार सम्मेलनमा बास्कोटाले भने, ‘लुकेर, छिपेर हमला गर्ने गतिविधि आतंककारी शैली हो, त्यसले उहाँहरुलाई राम्रो गर्दैन, त्यो राम्रो कुरा पनि होइन ।’
विप्लब समूहले गरेको ध्वंसात्मक गतिविधिप्रति खेद प्रकट गर्दै उनले कानूनी प्रक्रिया र विधिद्वारा समस्याको निरुपण गरिने बताए।
विप्लव समूहलाई शान्तिपूर्ण प्रक्रियामा आउन सरकारले पटकपटक आग्रह गरेको उल्लेख गर्दै उनले केही व्यक्ति सो समूह परित्याग गरेर विभिन्न दल प्रवेश गरिसकेकाले शान्तिपूर्ण गतिविधि सञ्चालन गर्न अनुरोध गरे। बुधबार राजधानीमा बम विस्फोट भएकामा विप्लव समूहले जिम्मेवारी लिएको घोषणा गरेको थियो।