
ऊर्जा, जलस्राेत तथा सिँचाइमन्त्री वर्षमान पुनले १५६ मेगावाट क्षमताको माडी जलाशययुक्त जलविद्युत् आयोजना प्रदेश ५ कै ‘गेम चेन्जर’ परियोजना हुने बताएका छन्।
'राप्ती बेसीनमा १४ वटा विभिन्न आयोजना निर्माण हुने चरणमा छन् । ती मध्येको महत्वपूर्ण यो आयोजना प्रदेश नम्बर ५ कै गेमचेन्जर हुनेछ,' बिहीबार रोल्पाको माडीचौरमा आयोजनाको सम्पर्क कार्यालय स्थापना कार्यक्रममा मन्त्री पुनले भने।
चिनियाँ राष्ट्रपतिको भ्रमणको क्रममा नै सो आयोजना अगाडि बढाउनेसम्बन्धी समझदारीपत्रमा सरकारी स्वामित्वको एचआइडिसिएल र चीनको पावर चाइनाका बीचमा समझदारी भएकामा प्रारम्भिक प्रक्रिया शुरु भएकाे छ।
मन्त्री पुनले आयोजनाको सम्भाव्यता अध्ययनको काम शुरु बताए। सो आयोजना प्रदेश नं ५ को ठूला मध्येको एक आयोजना हो । उनले भने, 'यस्ता आयोजनाको सम्भाव्यता अध्ययन दुई वर्ष लाग्छ तर यो आयोजनाले १८ महिनामा विस्तृत अध्ययन सक्ने र निर्माण प्रक्रियामा जानेछ। पावर चाइना र एचआइडीसिएलले यो आयोजनाको निर्माण गर्दैछन् । दुवै अनुभवी कम्पनी हुन् र समयमै गुणस्तरीय रूपमा निर्माण सम्पन्न हुने विश्वास छ ।'
मन्त्री पुनले माडी जलाशययुक्त बहुउद्देश्यीय आयोजना भएको बताउँदै जलविद्युत् आयोजना सम्पन्न भएलगतै त्यहाँको पानीलाई दाङ लगेर सिचाइँसमेत हुने बताए। यो आयोजनाले ‘समृद्ध रोल्पा, सुखी रोल्पाली’को हाम्रो आकांक्षालाई पूरा गराउन सघाउ पु-याउने मन्त्री पुनको विश्वास छ।
कार्यक्रममा पावरचाइना यूरेसियाका उपाध्यक्ष पान टेनक्वूले यो आयोजना निर्माण तथा लगानी गर्न पाउँदा गौरवान्वित भएको बताए। उनले पावर चाइनाले नेपालमा १० आयोजना निर्माण गरेको बताउँदै यो आयोजना समयमै सम्पन्न गर्ने बताए।
एचआइडीसियलका प्रमुख कार्यकारी अधिकृत छविराज पोखरेलले नमूना माडी जलाशययुक्त आयोजनालाई नमूना जलविद्युत् आयोजनाको रूपमा निर्माण गरिने बताए। 'आयोजना समयमै सक्छौँ । यो नमूना आयोजना बन्नेछ,' उनले भने।