
सरकारले करिब पौने दुई लाख किलोग्राम रक्तचन्दन काठ भारत फिर्ता लैजान स्वीकृति दिने निर्णय गरेको छ।
सरकारले परराष्ट्र मन्त्रालयमार्फत भारतको सम्बन्धित अधिकारीलाई ‘दुर्लभ वन्यजन्तु तथा वनस्पतिको अन्तरराष्ट्रिय व्यापार महासन्धि’ (साइटिस) र सङ्कटापन्न वन्यजन्तु तथा वनस्पतिको अन्तरराष्ट्रिय व्यापार नियन्त्रण ऐन, २०७३ बमोजिम सो स्वीकृति दिएको हो ।
सो निर्णय गत पुस २८ गते बसेको मन्त्रिपरिषद् बैठकले गरेको हो । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले बिहीबार सार्वजनिक गरेको निर्णयअनुसार जम्मा एक लाख ७३ हजार ७१ केजी रक्तचन्दन काठ जेजस्तो अवस्था र स्थानमा छ, सोही अवस्था र स्थानबाट आफ्नै खर्चमा ९० दिनभित्र उत्पत्ति मुलुक भारत फिर्ता लैजान स्वीकृति दिइएको हो ।
सो रक्तचन्दन विभिन्न समयमा अवैधरुपमा चीन लैजान खोज्दा बरामद भएको हो । बरामद रक्तचन्दन १२ वर्षदेखि बबरमहलस्थित वन विभाग, काठमाडौँ, ललितपुर, भक्तपुर, चितवन, सप्तरी, सर्लाही, झापा, नवलपरासी, कपिलवस्तु, रुपन्देहीलगायत २० जिल्लामा कडा सुरक्षाका साथ राखिएको छ। सबैभन्दा बढी परिमाण वन विभाग परिसरमा रहेको छ ।