
गत बुधवार रातिदेखि परेको वर्षाका कारण गुल्मीको रुरु महोत्सव प्रभावित बनेको छ ।
वर्षाका कारण रिडी खोलामा बाढी आएसँगै रिडीको रुरु महोत्सवमा बगर छेउमा बनाइएका ३४ वटा होटलका अस्थायी टहरामा समेत बाढी पसेको छ ।
होटलका टहरामा बाढी पसेपछि व्यवसायी विस्थापित बनेका छन् । स्थानीयवासी र सुरक्षाकर्मीको सहयोगमा व्यवसायीका सामानलाई टहराबाट हटाएर सुरक्षित स्थानमा सारिएको महोत्सव आयोजक समितिका निर्देशक हिमाल श्रेष्ठले जानकारी दिए ।
रिडी खोलामा बाढी आएसँगै मेलामा वारपार गर्नका लागि खोला तर्न बनाइएको काठको अस्थायी पुलसमेत बगाइदिएको छ । रिडीको माघे संक्रान्ति मेलालाई लक्षित गरी गुल्मी उद्योग वाणिज्य संघ रिडी शाखा र रुरु फ्रेण्डस क्लबको संयुक्त आयोजनामा रुरु क्षेत्र गाउँपालिकाअन्तर्गत रिडीमा दोस्रो रुरु महोत्सवको आयोजना गरिएको हो ।
माघ ९ गतेसम्म सञ्चालन हुने महोत्सव वर्षाका कारण बिहीवार दिनभर सुनसान बनेको थियो भने शुक्रवार पनि महोत्सव सुनसान बनेको छ । मेलामा व्यापारका लागि आएका कतिपय व्यवसायी वर्षाका कारण आफ्ना सामान लिएर त्यत्तिकै घर फर्कन बाध्य बनेका छन् ।
पाल्पा, स्याङ्जा र गुल्मीको संगमस्थल रिडीमा माघे संक्रान्तिको अवसरमा ३ दिनसम्म ठूलो मेला लाग्ने गर्दछ तर यस पटक लगातारको झरी र अत्यधिक चिसोका कारण मेला प्रभावित बनेको हो । २ दिनदेखिको वर्षाका कारण गुल्मी जिल्लाको जनजीवन प्रभावित बनेको छ । लगातारको झरी र चिसोका कारण मानिस अत्यावश्यक कामबाहेक घर बाहिर निस्केका छैनन् ।
वर्षाका कारण सडक चिफ्लो भएपछि जिल्लाका ४ दर्जनभन्दा बढी ग्रामीण सडकमा सवारी साधनसमेत सञ्चालन हुनसकेका छैनन् ।