काठमाडाैं, १ बैशाख- सिन्धुपाल्चोक सदरमुकाम चौतारादेखि धेरै टाढा छैन कुविण्डे । कच्ची मोटरबाटोको छेउका केही गाउँमा केही पक्की घर बन्दैछन् । धेरैजसो घर भूकम्पको दुई वर्षसम्म पुग्नै लाग्दा पनि जस्ताले बारेका स–साना झुपडीमा सीमित छन् ।

तिनै झुपडीमा कतै पसल खोलिएका छन् । कतै फर्निचर छन् । कतै होटल छन् । मान्छेहरु त्यति बाक्लो छैनन् । गाउँमा युवापुस्ताको कमी छ । वयस्क, बुढाबुढी र केटाकेटीको बाहुल्यता छ गाउँमा । त्यही गाउँमा एउटा सरकारी विद्यालय छ – श्री कालिका माध्यमिक विद्यालय ।
कच्ची मोटरबाटोसँग जोडिएको विद्यालयको एउटा भवन छ । वल्र्ड भिजन इन्टरनेशनलको आर्थिक र प्राविधिक सहयोग, ग्रीन नेपाल र जिल्ला शिक्षा कार्यालयको सहकार्यमा एउटा भवन बनेको छ । जम्माजम्मी सत्र लाख, एकलाचीस हजार एक सय एकासी रुपैयाँको लागतमा बनेको एउटा सिङ्गो भवन ।
भवनका वरिपरि भने उस्तै साना कक्षाकोठा छन् । जस्ताले छाएका साना कोठाको झ्यालमा मर्मत हुन सकेको छैन । कक्षाकोठा व्यवस्थित छैनन् । अरु सरकारी विद्यालयजस्तै यो विद्यालयको हालत पनि दयनीय छ ।
संस्थाले बनाइदिएको पक्की भवनमा साना तहका विद्यार्थीलाई पढाइन्छ । अरु तहका विद्यार्थीलाई भने तिनै पुनः सरंचना हुन नसकेका कोठामा राखेर अध्यापन गराइन्छ ।
विद्यालयका प्रध्यानाध्यापक समेत रहनुभएका स्थानीय कमल सापकोटाका अनुसार भूकम्पले विद्यालयलाई पूर्ण रुपमा क्षति गरेको थियो । संघसंस्थाको सहयोगमा भवन निर्माण भएको छ । तर, साना कोठालाई छाएको छानाको टिन हावाले उडाइदिन्छ । ‘निर्माणको क्रममा हामीले समय दिन भ्याएनौं । ठेकेदारले राम्रोसँग टिन जडान गरेको रहेनछ ।’ उनी हावाहुरीले भवनपछाडिको सानो कोठाको टिन देखाउँदै भन्छन्, ‘विद्यालय विदाको दिन परेर केही फरक परेन । यस्तो समस्या फेरि आउँछ कि भन्ने भय पनि छ ।’
विद्यालयको एउटा जस्तालाई हावाहुरीले उडाएर दुई सय मिटर पर पु-याएको थियो । स्कुलको छाना उडाइदिएपछि अविभावकहरु आफ्ना बालबच्चालाई स्कूल पढाउन डराउने गरेको शिक्षकहरु बताउछन् । सरकारी निकायले स्कुल पुनःनिर्माण नगरिदिँदा गैससको मुख धेर्न बाध्य छन, सिन्धुपाल्चोकका सरकारी स्कुल ।
विद्यालयलाई सरकारले कक्षा ८ सम्मको सेवा सुविधा दिएको छ । तर, स्वीकृति भने माध्यमिक तहसम्मका लागि दिएको छ । माध्यमिक तहका शिक्षकलाई भने विद्यालयले निजी स्रोतबाट तलब खुवाएको छ ।
विद्यालयको एउटा भवन बाहेक अरु ब्लकमा सञ्चालन गर्नुपर्दा विद्यार्थीलाई असहज पनि भएको छ । संस्थाले बनाएको भवनले गर्दा विद्यार्थी तथा व्यवस्थापन समितिलाई ठूलो राहत मिलेको स्थानीय बताउँछन् ।
कुविण्डेको यो स्कुलमा आजभोलि विद्यार्थीमैत्री पढाइ हुन्छ । हप्तामा या दुई हप्तामा एकपटक हुने कार्यक्रममा शिक्षक सहयोगीका रुपमा प्रस्तुत हुन्छन् भने विद्यार्थीले नै पूरै कार्यक्रमको जिम्मा लिन्छन् ।

यसको कारण के त? प्रअ सापकोटा भन्छन्, ‘भूकम्पपछि थुप्रै संस्थाहरु हामीलाई सहयोग गर्नका लागि आउनुभयो । विद्यार्थीका लागि विभिन्न खालका तालीम पनि ल्याउनुभयो ।’ उनी थप्छन्, ‘यस्ता कार्यक्रमले विद्यार्थीको व्यक्तित्व विकासमा सहयोगी भूमिका खेलेको छ ।’
भूकम्पले पूर्ण प्रभावित पारेपनि अहिले विद्यार्थी आफैले शर्तकता अपनाउन थालेको उनी बताउँछन् ।
वल्र्ड भिजनले उक्त विद्यालयमा इन्टरनेटको व्यवस्था पनि गरेको छ । साथै संस्थाहरुले खेलकुदका सामान, पाठ्यपुस्तक, कम्प्युटर ल्याव आदिको समेत व्यवस्था गरेको छ । यसले विद्यालयमा पढ्ने अन्य विद्यार्थीले पनि समाज अनुसार अपडेट हुने मौका पाएका छन् ।
विद्यालयमा तुलनात्मक रुपमा संस्थागत राहतले धेरै सहज भएपनि जस्ताले छाएर बनाइएका पुराना ब्लकले विद्यार्थीलाई समस्यामा पारेको छ । राम्रा कक्षाकोठाको अभावमा विद्यार्थीले हावा तथा हुरीको भय बोकेर विद्यालय आउने गरेका छन् । गाउँका स्थानीय भन्छन्, ‘अब वर्षायाम आउन थालेको छ । घर पनि उस्तै छन्, विद्यालय पनि उस्तै कोठाभित्रै भल पस्ने खालका छन् ।’