२५ जेठ २०८३, सोमबार

महिनावारी हुँदा घरको बाटो हिँडेको भन्दै छिमेकी पुरुषबाट कुटिए दुई महिला

माघ ५, २०७६
महिनावारी हुँदा घरको बाटो हिँडेको भन्दै छिमेकी पुरुषबाट कुटिए दुई महिला

सरकारले महिला हिंसा र कुसंस्कार अन्त्य गर्न कर्णाली र सुदूरपश्चिमका गाउँ–गाउँमा छाउगोठ भत्काउँदै हिँडेको छ । तर, सुदूरपश्चिमकै कञ्चनपुरमा महिनावारी हुँदा आफ्नो घरको बाटो हिँडेको भन्दै एक पुरुषले दुई महिलालाई निर्घात कुटेका छन् । 

बेलडाँडी गाउँपालिका–१ टाइगर बस्तीका दलबहादुर शाहले शुक्रबार छिमेकी गीता खड्का र ईश्वरी खड्कामाथि हातपात गरेका हुन् । महिनावारीका वेला घरको बाटो हिँड्दा आँखा लागेर भैँसीले दूध नदिएको आरोप लगाउँदै शाहले कुटेको पीडितहरूले बताएका छन् । गीता र ईश्वरी देउरानी–जेठानी हुन् । 

‘मिन्स भएको वेला मेरो घरको बाटो किन हिँडेको भन्दै देउरानीलाई दलबहादुरले गाली ग¥यो,’ धनगढीको नोभा अस्पतालमा उपचाररत ईश्वरीले भनिन्, ‘मैले तथानाम नबोल्नुस् भनेपछि हामी दिदी–बहिनीलाई नै कुटपिट ग¥यो ।’ गीताको पनि नोभा अस्पतालमै उपचार भइरहेको छ । खड्का परिवार आरक्षपीडित भएकाले शाह परिवारकै जमिनमा बस्दै आएको छ । दुवै परिवारको सधैँ हिँड्ने बाटो नै एउटै छ । तर, त्यही बाटो प्रयोग गर्दा आफ्नो घरको बाटो हिँडेको आरोप लगाएर दलबहादुरले कुटपिट गरेका हुन् । 

दलबहादुरलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाको अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बेलडाँडीले जनाएको छ । छिमेकी, स्थानीय र महिला अधिकारकर्मीले घटनाको छानबिन गरी दोषीमाथि कारबाहीको माग गरेका छन् । 

‘सरकारले छाउपडी उन्मूलनका लागि देशव्यापी अभियान चलाएको छ, तर बेलडाँडीको घटनाले त्यो अभियानमाथि नै प्रहार गरेको छ,’ अधिकारकर्मी माया नेगीले भनिन् । दोषीलाई उन्मुक्ति दिन चलखेल गरे आन्दोलनमा उत्रिने महिला अधिकारकर्मीले चेतावनीसमेत दिएका छन् । नयाँ पत्रिकामा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्