
प्रतिनिधि सभाको सभामुख उम्मेदवार छान्न सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालयको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा शुरू भएको छ ।
नेकपा सचिवालयका ९ सदस्यमध्ये प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशबाहेक ८ सदस्य सहभागी बैठकले पार्टीका तर्फबाट प्रतिनिधि सभा सभामुखको उम्मेदवारबारे निर्णय गर्नेछ ।
प्रवक्ता श्रेष्ठ राष्ट्रिय सभाको आसन्न निर्वाचनमा उम्मेदवार बनेकाले चुनावी प्रचारमा छन् ।
सचिवालय बैठकअघि अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच बिहान भएको छलफलमा सिन्धुपाल्चोकबाट प्रत्यक्ष निर्वाचित सांसद अग्नि सापकोटालाई उम्मेदवार बनाउने सहमति भएको थियो ।
दुई अध्यक्षबीच भएको सहमति अनुमोदनका लागि सचिवालयको बैठक बोलाइएको हो । सचिवालय बैठकले सापकोटाको नाम सभामुखको उम्मेदवारका रूपमा अनुमोदन गर्ने नेकपा स्रोतले बतायो ।
यसअघि पुस २६ गते बसेको सचिवालय बैठकले उपसभामुख डा. शिवमाया तुम्बाहाम्फेलाई राजीनामा गर्न आग्रह गरेको थियो तर आफैंलाई सभामुख बनाउनुपर्ने अडानसहित सचिवालयको निर्णयलाई उपसभामुख तुम्बाहाम्फेले चुनौती दिएकी थिइन् ।
नेकपाले सभामुखको उम्मेदवार छान्न नसक्दा पटक–पटक सूचना टाँसेर स्थगित हुँदै आएको प्रतिनिधि सभाको बैठक भोलि दिउँसो १ बजेका लागि बोलाइएको छ ।
नेकपाले सभामुखको उम्मेदवार छान्नेलगत्तै सभामुख निर्वाचन प्रक्रिया अगाडि बढाउने संसद् सचिवालयको तयारी छ ।