
चीनमा अहिले व्यापक रूपमा फैलिरहेको नयाँ किसिमको कोरोनाभाइरसबाट चौथो व्यक्तिको मृत्यु भएको छ । अधिकारीहरूले यो भाइरस मानिसबाट मानिसमा सर्न सक्ने पुष्टि गरेका छन् ।
यो भाइरसले एक किसिमको निमोनिया गराउँछ र ८९ वर्षीय एक वृद्ध यसको पछिल्लो शिकार बनेका छन् ।
उनी वुहान निवासी थिए र उक्त शहर नै संक्रमणको केन्द्र हो ।
चीनका प्रमुख शहरहरूमा यस भाइरसको २०० भन्दा बढी केस देखिएका छन् ।
सोमवार चीनको राष्ट्रिय स्वास्थ्य आयोगले ग्वाङदोङ प्रान्तमा थप दुई संक्रमणका केस आएको र मान्छेबाट मान्छेमा त्यो सर्ने पुष्टि गरे ।
एक फरक बयानमा वुहान म्युनिसिपल हेल्थ कमिसनले कम्तीमा १५ जना स्वास्थ्यकर्मी पनि भाइरसको संक्रमणमा परेको र एकजना गम्भीर अवस्थामा रहेको जनायो ।
उनीहरू सबैलाई एकान्तमा राखेर उपचार गरिँदैछ ।
यो रोग डिसेम्बरमा पहिलोपटक वुहान शहरमा देखिएको थियो र त्यहाँ एक करोड १० लाख मानिस बस्छन् ।
चीनमा यस भाइरसका २१८ केस पुष्टि भइसकेको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।
बीबीसीबाट