
सुडानको एक चिडियाखानामा खान नपाएर सिंहहरूको बेहाल भएको छ । कुपोषित र कमजोर सिंहहरूलाई बचाउनका लागि अहिले संसारभरि अन्लाइन अभियान चलाइएको छ ।
त्यहाँका पाँच सिंह खार्तूम अल कुरैशी पार्कमा छन् । उनीहरूलाई खान दिइएको छैन र स्याहार पनि गरिएको छैन । त्यसैले उनीहरूको तौल दुईतिहाइ घटिसकेको छ ।
राम्रो खान नपाएर यी सिंहहरू राम्ररी हिँडडुल पनि गर्न सकिरहेका छैनन् । चिडियाखानामा राम्रो सरसफाइ नभएकाले सिंहहरू फोहरमै बस्न बाध्य छन् ।
अहिले सुडानमा भयानक आर्थिक समस्या छ । खानाको मूल्य ह्वात्तै बढेको छ । त्यसैको असर सिंहहरूमा पनि देखिएको छ । उनीहरूको कंकाल देखिन थालेको छ ।
चिडियाखाना अधिकारीहरू र पशुचिकित्सकहरूले सिंहहरूको हालत केही हप्तायता निकै बिग्रिएको बताए । उनीहरूले राम्रो खाना र औषधि पाएका छैनन् ।
संसारभरि अफ्रिकी सिंहहरूको संख्या जम्मा २० हजार छ ।
अल–कुरैशी पार्कका व्यवस्थापक एसामेलुद्दीन हज्जरले चिडियाखानासँग पैसा नभएको बताए । खानका लागि सरकारबाट पैसा नपाइएको र आफूहरूले खल्तीबाट पैसा झिक्ने गरेको उनले बताए । सिंहहरूलाई खुवाउँदा निकै खर्च हुने उनको भनाइ छ ।
चिडियाखानालाई खार्तूम नगरपालिकाले निजी संस्थानबाट प्राप्त दानमार्फत चलाइन्छ । तर आर्थिक मन्दीका कारण नगरपालिकालाई कसैले पनि दान दिएको छैन ।
सिंहहरूको तस्वीर सामाजिक सञ्जालमा भाइरल भएपछि सयौं समाजसेवी, पशु संरक्षक र पत्रकार चिडियाखाना पुगे । सबैले मिलेर सिंह बचाउन अन्लाइन अभियान चलाएका छन् ।




एजेन्सी