
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसभित्र देखिएको विवाद समाधान गर्न शीर्ष नेताहरू अघि सरेका छन् ।
बुधवार साँझ सभापति शेरबहादुर देउवाले वरिष्ठ नेता रामचन्द्र पौडेल लगायत अन्य शीर्ष नेतालाई आफ्नो निवास बुढानिलकण्ठ बोलाएर पार्टीको विवाद हल गर्ने पहलकदमी लिएका हुन् ।
छलफलमा सभापति देउवा, वरिष्ठ नेता पौडेलका साथै उपसभापति विमलेन्द्र निधि, महामन्त्री पूर्णबहादुर खड्का, प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौला उपस्थित थिए ।
‘तपाईंको स्वास्थ्य कस्तो छ ?’ छलफलको शुरूमै देउवाले वरिष्ठ नेता पौडेलसँग सोधे । पौडेलको रक्तचापमा समस्या देखिएपछि उपचारका लागि पुस २८ गते भारतको राजधानी नयाँदिल्ली उडेका थिए ।
दिल्ली जानुभन्दा एक दिनअघि देउवासँग भेटेर महाधिवेशन कार्यतालिका तत्काल सच्याउनुपर्ने माग राखेका थिए । ५ दिने दिल्ली बसाईंपछि नेपाल फर्किएका पौडेल र देउवा बुधवार साँझ आमनेसामने भएका हुन् ।
सभापति देउवाले आफ्नो स्वास्थ्यप्रति गरेको चिन्तालाई धन्यवाद भन्दै पौडेलले अहिले आफ्नो रक्तचाप सामान्य रहेको बताए । ‘मेरो स्वास्थ्य ठूलो कुरा होइन, पार्टीको स्वास्थ्य ख्याल गर्नुस्,’ पौडेलले यस्तो जवाफ देउवालाई फर्काउँदा उपस्थित अन्य नेताहरू एकछिन हाँसे ।
हाँसो सकिएपछि उपसभापति निधिले गत सोमवार पार्टी केन्द्रीय कार्यालय सानेपामा नेता सिटौला, प्रकाशमान सिंह र आफूबीच भएको छलफलको ब्रिफिङ सुनाए ।
३ नेताबीच भएको छलफलमा देउवाको प्रतिनिधित्व गरेका निधिले पुस ११ गते बसेको केन्द्रीय समितिको बहुमतले गरेका कतिपय निर्णयहरू सच्याउन आफूहरू तयार रहेको विश्वास दिलाएका थिए ।
निधि, सिंह र सिटौलाबीच पौडेल दिल्ली गएको भोलिपल्ट पुस २९ गते, माघ १ गते र ६ गते छलफल भएको थियो ।
स्रोतको दाबीअनुसार केन्द्रीय महाधिवेशनको कार्यतालिका यथावत राखेर जिल्ला र प्रदेश अधिवेशनको मिति सार्न सकिने, विभागको संख्या केही घटाउन सकिने र अब गठन हुने नेविसंघको तदर्थ समितिमा दुवै पक्षबाट सम्मानजनक उपस्थिति राख्न सकिने विषयमा सभापति देउवा लचक भएका छन् ।
यति मात्र नभई क्रियाशील सदस्यता छानबिन गर्न समिति गठन हुनुपर्ने पौडेलको मागलाई देउवाले कसरी सम्बोधन गर्छन् त्यो हेर्न बाँकी छ ।
तर पौडेलपक्षले भने देउवा लचक भएर मात्र नपुग्ने बताउँदै आइरहेको छ ।
‘विधानविपरीत पार्टी कब्जा गर्ने खेलमा लाग्ने अनि विरोध भएपछि लचक छु भन्दिने ?’ पौडेलपक्षीय एक केन्द्रीय सदस्यले आक्रोश पोखे, ‘लचक भएर मात्र हुँदैन, गल्ती गरेपछि त्यसलाई महसूस गर्नुपर्छ र अब यस्तो नगर्ने विश्वास दिलाउनुपर्छ ।’
तर निधि, सिंह र सिटौलाबीचको निरन्तरको छलफलले कांग्रेसभित्र मध्यमार्गी हल पत्ता लगाएर अघि बढ्ने सम्भावना बढेको देखिएको छ ।
बुधवार साँझको बैठक सौहार्दपूर्ण रहेको छलफलमा उपस्थित एक नेताले बताए तर पौडेलले अब बस्ने केन्द्रीय समितिमा सभापति देउवाले आफूबाट गल्ती भएको स्वीकार्नुपर्ने अडान लिएका थिए ।
करीब ४ घण्टा चलेको छलफलको अन्त्यतिर देउवाले प्रस्ताव गरे, ‘हामी शुक्रवार पनि बसौं ।’ त्यसपछि सबै नेताहरूले टाउको हल्लाए । पौडेल पनि केही बोलेनन् ।
‘शुक्रवारसम्म आफूनिकट नेताहरूसँग परामर्श गरेर अघि बढ्ने सभापतिको मनस्थिति देखियो,’ बैठकमा उपस्थित एक नेताले लोकान्तरलाई बताए ।
गत पुस ११ गतेको केन्द्रीय समिति बैठकले बहुमतको आडमा महाधिवेशन कार्यतालिका तोक्ने लगायतका अन्य महत्त्वपूर्ण निर्णय गरेपछि वरिष्ठ नेता पौडेलले पार्टीको औपचारिक बैठकमा सहभागी नहुने घोषणा नै गरेका थिए ।
तर पछिल्लो समय अनौपचारिक छलफलमा देउवा र पौडेल बढी देखिन थालेका छन् ।
बिग्रिँदै गएको वातावरणलाई सहजताका साथ हल गर्ने जिम्मा दोस्रो तहका नेताहरूले लिएका थिए ।
विवाद झन् गहिरिँदै गएपछि घोषणा नभएको भएपनि निधि, सिंह र सिटौलाले कार्यदलस्तरमै संवाद कार्यलाई जारी राखेका थिए ।
योबाहेक पौडेल र सिटौलाले क्रियाशील सदस्यता छानबिनका लागि समिति बनाउनुपर्ने माग राख्दै आएका छन् ।
महाधिवेशनलाई प्रभावित पार्न क्रियाशील सदस्यतासम्बन्धी विधानको धारा नै निलम्बन गरेर अघि बढ्न खोजेको आरोप देउवामाथि लाग्दै आइरहेको छ ।
कांग्रेस केन्द्रीय समिति सदस्य हृदयराम थानीले मिल्न नसक्ने विषय केही नरहेको तर बीचमा ‘इगो’को समस्या देखिएको बताए ।
लोकान्तरसँग कुरा गर्दै थानीले भने, ‘आज कांग्रेस राष्ट्रियसभा सदस्य निर्वाचनमा देशैभर हारको संघारमा छ, यस्तो अवस्थामा पनि कांग्रेसभित्रको विवाद समाधान गर्न नेताहरू असफल भए भने के सन्देश जाला ?’