१८ असार २०८३, बिहीबार
सामाजिक सुधार

छाउगोठ भत्काइएपछि महिलाहरू देवताको शरणमा, धामीझाँक्रीको जवाफ – घरमै बस्नू

माघ ९, २०७६
छाउगोठ भत्काइएपछि महिलाहरू देवताको शरणमा, धामीझाँक्रीको जवाफ – घरमै बस्नू

सुर्खेतको बराहताल गाउँपालिका–६ मा पुस अन्तिम साता मष्टो देवताको पूजा थियो । सरकारले छाउगोठ भत्काउने अभियानलाई तीब्र पारिरहेका बेलामा स्थानीय सिर्जना कार्कीले मष्टो देवताका धामीलाई प्रश्न गरिन्, ‘सरकारले गोठ भत्काएको छ । सरकार गोठमा बस्न नदिने, देवता घरमा बस्न नदिने । अब हामी कहाँ बस्नु ?’

पूजामा गाउँकै सबै धामीझाँक्री सहभागी थिए । यहीँ मौका छोप्दै कार्की रोकिइनन् । उनले अगाडि भनिन्, ‘हामीलाई राज्यले सेवासुविधा रोक्ने भनेको छ । देवताले भनोस्, हामी कहाँ कसरी बस्ने ? बाटो खोलोस् ।’ 

कार्कीको प्रश्न सुनेपछि धामीमध्ये एकले जवाफ फर्काए, ‘पूजा कोठामा नजानू, घरभित्रै एक कोठामा बस्नू ।’

महिनावारी (छुई) भएका बेला घरभित्र बस्दा देवता रिसाउने विश्वासले गाउँका महिला छाउगोठमा सुत्थे । सरकारले छाउगोठलाई अन्धविश्वास भन्दै भत्काउने र कारवाही गर्ने अभियान अगाडि बढाएपछि स्थानीय महिला अलमलमा थिए । तर मष्टा पूजामा धामीझाँक्री (देवता) ले नै ‘घरभित्र बस्नू’ भनेर आज्ञा गरेपछि स्थानीय महिलालाई सहज भएको छ । त्यहाँका महिला हाल घरभित्रै बस्ने गरेका छन् ।

दैलेखको आठबीस नगरपालिका–६ की मना विकको छाउगोठ प्रहरीले भत्काएपछि उनी घरको गोठमा बस्ने गरेकी छन् । ‘हामीलाई सबैभन्दा ठूलो डर देवताको नै हो । देवता रिसाउने हुँदा हामी यो प्रथालाई मानिरहेका छौं,’ मनाले भनिन्, ‘सरकारले गोठ भत्काएपनि हामीले मनबाटै छाउप्रथा अस्वीकार गर्न सक्ने वातावरण बनेको छैन ।’

पञ्चपुरी नगरपालिका–१० की सीता बडुवालले गोठ भत्काइएपनि चेतना जागृत गर्ने कार्य नभएको बताइन् । ‘समाजमा हामी आफैंलाई पनि छाउ बार्न बानी परेका कारण तत्कालै छाउ बार्न छोड्न सकिँदैन,’ उनले भनिन्, ‘यसका लागि गाउँमा धामीझाँक्रीकै सहयोग लिएर भ्रम हटाउन जरुरी छ ।’ छाउगोठ भत्काएर मात्रै समस्याको समाधान नहुने बताउँदै उनले स्थानीय सरकारको पहलमा जनचेतनाको आवश्यकता रहेको बताइन् ।

पञ्चपुरी नगरपालिका–१ का अध्यक्ष धनबहादुर थापाले छाउगोठ भत्काएर मात्रै समस्या समाधान नहुने बताउँछन् । ‘विगतमा पनि हामीले छाउगोठ भत्काएकै हौं, फेरि निर्माण गरिए,’ उनले भने, ‘छाउप्रथा हटाउनका लागि सबैभन्दा मुख्य कुरा जनचेतना फैलाउनु नै हो ।’

बराहताल गाउँपालिकाका अध्यक्ष तेजबहादुर बस्नेत गोठ भत्काएर मात्रै समस्या नहट्ने बताउँछन् । ‘आवश्यक मात्रामा प्रचारप्रसार र जनचेतनाका अलावा गीत–संगीतका माध्यमबाट हामीले जनचेतना जागृत गर्न आवश्यक छ,’ उनले भने, ‘यसका लागि हामी आवश्यक नीति तथा कार्यक्रम बनाएर अघि बढ्छौं ।’

जिल्ला प्रशासन कार्यालय सुर्खेतले छाउप्रथालाई जसरी पनि हटाउने अभियान थालेको छ । सुर्खेतमा १ हजार २०० भन्दा बढी छाउगोठ भत्काइएको प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीले बताए । ‘गृह मन्त्रालयको निर्देशनपछि हामीले अहिले गोठ भत्काउन शुरू गरेका छौं,’ उनले भने, ‘सामाजिक कुप्रथाको जरैदेखि उन्मुलन गर्नको लागि सबै लागेका छौं । तीनै तहको सरकार लागिरहेको छ ।’

salt training

कमेन्ट गर्नुहोस्