
‘अस्ट्रेलिया काण्ड’को नाम दिएर सामाजिक सञ्जालमा जथाभावी भिडियो तथा फोटो आदानप्रदान हुने क्रम बढेपछि नेपाल प्रहरीको साइबर अपराध अनुसन्धान ब्यूरोले अनुसन्धान थालेको छ ।
अस्ट्रेलिया काण्डको नाममा अश्लील भिडियो तथा त्यसका स्क्रीनशटहरू फेसबूक, ट्वीटर, भाइबर, ह्वाट्स एप लगायतमा व्यापक आदानप्रदान भइरहेका बेला सत्यतथ्य बुझ्न अनुसन्धान थालिएको साइबर अपराध अनुसन्धान ब्यूरोका वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) नविन्द्र अर्यालले बताए ।
‘कसले सार्वजनिक गर्यो ? के हो यो विषय ? भन्ने बारेमा हामीले आज (बिहीवार)बाट अनुसन्धान थालेका छौं,’ एसएसपी अर्यालले लोकान्तरसँग भने ।
सामाजिक सञ्जालमा जाथाभावी कसैको चरित्र हत्या गर्दा निर्दोष मानिस पर्न सक्ने भएकाले अनुसन्धान थालिएको एसएसएपी अर्यालले बताए ।
अनुसन्धानपछि सत्यतथ्य पत्ता लगाई बाहिर ल्याउने ब्यूरोले जनाएको छ ।
केही दिनयता एउटा अश्लील भिडियो फेसबूकलगायतका सामाजिक सञ्जालका मेसेञ्जरहरूमा व्यापक आदानप्रदान भइरहेको छ । उक्त भिडियोबाट लिइएका स्कीनशटहरू शेयर पनि गरिएका छन् ।
कतिपयले भिडियोमा देखिएकी केटीभन्दै केही नेपाली युवतीहरूको तस्वीर समेत सामाजिक सञ्जालमा भाइरल बनाएका छन् ।