
लेनिन विष्ट नेतृत्वको बहिर्गमित जनमुक्ति सेना नेपालले आयोजना गरेको कार्यक्रममा सत्तारूढ दल नेकपाका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' उपस्थित हुने भएका छन् ।
विष्ट तिनै व्यक्ति हुन् जसले बारम्बार प्रचण्डलाई अन्तर्राष्ट्रिय फौजदारी अदालत हेग लैजाने धम्की दिइरहेका हुन्छन् ।
शुक्रवार अपराह्न साढे १ बजे ललितपुरमा आयोजना हुने पूर्व बाललडाकुको जीवनयापनबारे अन्तरसंवाद कार्यक्रममा प्रचण्ड, नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाल, ऊर्जामन्त्री वर्षमान पुनलगायत सहभागी हुने भएका छन् ।
'सरकारले पूर्वबाल लडाकुहरूलाई हेपिरहेको र उनीहरूको जीवन दिनप्रतिदिन कष्टकर हुँदै गइरहेको परिप्रेक्षमा हामीले सत्तारूढ दलका अध्यक्ष प्रचण्डलाई नै बोलाएर अन्तरक्रिया गर्न लागेका हौं,' विष्टले लोकान्तरसँग भने ।
यता प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटा 'जुगल'ले पनि विष्टले आयोजना गरेको कार्यक्रममा प्रचण्ड सहभागी हुने पुष्टि गरे ।
'आज पाटनढोकामा पूर्व बालसैन्यको जीवनयापनबारे हुने अन्तरसंवादमा अध्यक्षज्यू जाने कार्यक्रम छ,' जुगलले लोकान्तरसँग भने ।
१३ वर्ष अगाडि आजकै दिन (माघ १० गते) अनमिनको रोहबरमा लडाकु शिविरबाट बाल सेनालाई औपचारिक रूपमा बिदाइ गरिएको थियो ।
त्यतिबेला उमेरका कारण अयोग्य भएर शिविर छोडेका तत्कालीन बाल लडाकुहरूले विष्टको नेतृत्वमा संगठन बनाएर हकहितका लागि लडिरहेका छन् ।
बाल लडाकुलाई बेवास्ता गरेको भन्दै विष्टले प्रचण्डलाई अन्तर्राष्ट्रिय फौजदारी अदालत हेग लैजाने धम्की दिइरहेका हुन्छन् ।
विष्टले नेदरल्यान्डसस्थित हेग पुगेर अन्तर्राष्ट्रिय फौजदारी अदालत परिसरमा खिचिएको फोटो समेत सार्वजनिक गरेका थिए ।
त्यहाँ कानून व्यवसायीहरूसँग परामर्श समेत गरेको उनको दाबी रहँदै आएको छ ।
अहिले तिनै विष्टले प्रमुख अतिथिका रूपमा बोलाउनु र प्रचण्ड सहभागी हुनुलाई अर्थपूर्णरूपमा हेरिएको छ ।