काठमाडौं उपत्यकामा पछिल्ला केही दिनयता घाम लागे पनि बढी चिसो महसूस गरिएको छ ।
एक सातादेखि दिनहँुजसो घाम लागे पनि खासगरी बिहान बेलुका बढी चिसो महसूस गरिएको छ ।
अहिले किन चिसो बढेको भनी राखिएको जिज्ञासामा मौसमविद् शान्ति कँडेलले कुनै पनि किसिमको मौसमी प्रणाली विकास नभए पनि यस्तो अवस्था अझै केही दिन जारी रहने बताइन् ।
उनले चिसो बढे पनि काठमाडौं उपत्यकाको तापक्रम शून्य डिग्रीमा नझर्ने र विस्तारै तापक्रम बढ्दै जाने बताइन् । राजधानीसहित देशका अन्य भेगमा पनि पछिल्ला दिनमा चिसो महसूस गरिएको छ । तराईमा हुस्सु र कुहिरोले बिहान र साँझपख बढी चिसो हुने गरेको छ ।
अहिले तराई क्षेत्रमा कुहिरो लागेको छ भने देशका पूर्व र मध्यका केही स्थानमा आंशिक बदली रहेको मौसमविद् कँडेलको भनाइ छ । मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार शुक्रवार काठमाडौंको न्यूनतम तापक्रम २ दशमलव ८ र अधिकतम तापक्रम १८ दशमलव ५ डिग्री सेल्सियस रहेको छ ।
महाशाखाले तराईको हुस्सु/शीतलहरसम्बन्धी शुक्रवार बुलेटिन निकालेर सुदूरपश्चिम प्रदेशको तराई भूभागबाहेक बाँकी तराईका भूभागमा हुस्सु र कुहिरो लागेको जनाएको छ । अपराह्नपछि बिस्तारै कुहिरो हटेर जानेछ । अबको केही दिन सामान्यतया मौसम सफा रहने जनाइएको छ ।