१६ असार २०८३, मंगलबार
कांग्रेस विवाद

पौडेलले अडान त्यागेपछि कांग्रेसमा सहमति, पुस ११ गतेकै बैठकका अधिकांश निर्णय सदर

पौडेलले अडान त्यागेपछि कांग्रेसमा सहमति, पुस ११ गतेकै बैठकका अधिकांश निर्णय सदर

निरन्तरको छलफलपछि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसभित्रको आन्तरिक विवाद हल भएको छ । विवाद हल भएसँगै केन्द्रीय समिति बैठक बहिष्कार गरेका वरिष्ठ नेता रामचन्द्र पौडेल लगायतका नेता बैठकमा सहभागी हुने भएका छन् ।

शुक्रवार सभापति शेरबहादुर देउवानिवास बुढानीलकण्ठमा बिहानैदेखि शीर्ष नेताहरूको बैठक बसेको थियो । बैठकमा सभापति देउवालगायत वरिष्ठ नेता पौडेल र अन्य शीर्ष नेताहरू उपस्थित थिए ।

बैठकमा सहभागी एक नेताले केन्द्रीय महाधिवेशनको कार्यतालिका यथावत रहने तर जिल्ला र प्रदेश लगायत अन्य संरचनाको अधिवेशनको मिति हेरफेर गर्न सकिने सहमति भएको बताए ।

लोकान्तरसँग कुरा गर्दै उनले भने, ‘केन्द्रीय महाधिवेशन यसअघि केन्द्रीय समिति बैठकले तोकेकै समय (२०७७ फागुन ७ देखि १० सम्म) हुने तर तल्ला तहका अधिवेशनको कार्यतालिका परिमार्जन गर्ने सहमति भएको छ ।

त्यस्तै पुस ११ गते बसेको केन्द्रीय समितिले गरेको विभागको संख्या बढाउने निर्णय पनि यथावत रहने भएको छ ।

पौडेलपक्षको बहिष्कारका बाबजुद बसेको केन्द्रीय समितिको बैठकले विधानले व्यवस्था गरेको २८ वटा विभागलाई बढाएर ४७ वटा बनाउने निर्णय गरेको थियो ।

त्यस्तै नेविसंघको तदर्थ समितिमा पनि सभापति देउवाले नै प्रस्ताव गरेका व्यक्ति सभापति हुने भएका छन् । देउवाले राजीव ढुंगानाको नाम प्रस्ताव गएका थिए । नेविसंघको केन्द्रीय कार्यसमिति भने पौडेल र सिटौला समूहबाट उचित प्रतिनिधित्व हुने गरी गठन गरिने सहमति भएको छ ।

अर्को भातृसंगठन नेपाल तरुण दलको म्याद थप भने सदर गरिएको छ । पुस ११ गते बसेको केन्द्रीय समितिको बैठकले तरुण दलको ६ महिना थप्ने निर्णय गरेको थियो ।

पुस ११ गतेको केन्द्रीय समिति बैठकको निर्णय फिर्ता नगरेसम्म पार्टीको औपचारिक बैठकमा समेत सहभागी नहुने घोषणा गरेका वरिष्ठ नेता पौडेल अन्तिम समयमा आएर लचक देखिएका थिए ।

पौडेलकै लचकताका कारण त्यतिबेला केन्द्रीय समितिले बहुमतको बलमा गरेका कतिपय निर्णयहरू सदर भएका छन् ।

शीर्ष नेताहरूको बैठकमा सहमति जुटेपछि कांग्रेस केन्द्रीय पार्टी कार्यालयका मुख्यसचिव कृष्ण पौडेलले माघ १३ गते केन्द्रीय समितिको बैठक बोलाइएको जानकारी दिएका छन् । बैठकमा आमन्त्रित केन्द्रीय समिति सदस्यलाई समेत उपस्थित हुन आग्रह गरिएको छ ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले कांग्रेसको आन्तरिक जीवनमा केही समययता जारी विवाद समाधान नजिक पुगेको बताएका छन् । शुक्रवार साँझ सामाजिक सञ्जाल ट्वीटरमा लेख्दै शर्माले संवादबाट सहमति, सहमतिका साथ महाधिवेशनका लागि यतिबेला घनिभूत छलफल जारी रहेको बताएका हुन् ।

‘नेपाली कांग्रेसको आन्तरिक जीवनमा केही समययता जारी विवाद समग्र समाधान नजिक पुगेको छ,’ उनले लेखेका छन्, ‘संवादबाट सहमति,सहमतिका साथ महाधिवेशनका लागि यतिबेला घनिभुत छलफल जारी छ । माघ १३ गते केन्द्रीय समितिको बैठकमा सबैको उत्साहपूर्वक सहभागिताका साथ हामी अघि बढ्नेछौं !’

salt training

कमेन्ट गर्नुहोस्