
जिल्ला अदालत सुर्खेतमा दर्ता भएका ९० प्रतिशत मुद्दामा ‘होस्टायल’ प्रवृत्ति बढिरहेको जिल्ला अदालत सुर्खेतका न्यायाधिस राजेन्द्रकुमार आचार्यले बताएका छन् ।
चालू आर्थिक वर्षको ६ महिनामा १२ सय ८६ मुद्दामध्ये ५ सय ७९ मुद्दाको फैसला भएको छ ।
‘जति पनि मुद्दा आइरहेका छन्, तीमध्ये ९० प्रतिशत मुद्दा होस्टायल भएर जाने गरेका छन् । जम्मा १० प्रतिशत मुद्दाका पीडितले मात्रै न्याय पाइरहेका छन् । यो होस्टायल प्रवृत्ति डरलाग्दो तरिकाले बढिरहेको छ,’ आचार्यले लोकान्तरसँग भने, ‘बहुविवाह, जर्बजस्ती करणी जस्ता मुद्दामा होस्टायल बढिरहको छ । पीडितले होस्टायल गर्दा समाजमा अपराधी झन् खुलेआम हिडिरहेको हामीले पाएका छौं ।’
अनुसन्धान प्रहरीले गर्ने तर त्यो अनुसन्धान अनुसार बकपत्र गराउँदा पीडित भनिएको व्यक्ति ३६० डिग्री नै घुम्ने गरेको उनको भनाई छ ।
यसरी होस्टाइल हुँदा समाजमा पीडकले उन्मुक्ति पाएको भन्ने सन्देश जाने तर पीडितले के बयान दिएको हो भन्नु बारे समाज अनभिज्ञ रहने गरेको उनको गुनासो थियो ।
‘समाजले छिटो भन्दा छिटो मुद्दाको टुंगो लागोस भन्ने चाहन्छ,’ उनले भने, ‘न्यायका प्रक्रिया एकातीर हुन्छ भने समाजको वातावरण अर्कै तीर हुने गरेको छ । निर्दोष नफसोस भन्ने तीर अदालतको ध्यान जान्छ ।’
उनले विचौलियाको बिगबिगी बढिरहेको बताए ।
‘अदालतमा न्यायाधीश वा अन्य व्यक्तिसँग कुरा गर्छु भनेर विचौलियाले वादी वा प्रतिवादीसँग पैसा खाइरहेका हुन्छन्,’ उनले भने, ‘वादी वा प्रतिवादी बेन्चमा भएका बेला बोल्दैनन् । अरु नै बोल्ने गर्छन । त्यस्ता केहि व्यक्तिलाई हामीले निकालेका पनि छौं ।’
उनले सम्बन्धविच्छेदका कारण समाजमा अपराध बढेको बताए ।
‘छोरा छोरी भएका आमा बुवाले सम्बन्ध विच्छेद गर्ने गरेका छन्,’ उनले गुनासो गरे, ‘सन्तान आमा वा बाबुले नै पाल्नुपर्ने व्यवस्था छ । तर पछि आमा वा बुवाले अर्को बिहे गर्ने, बच्चाले आमा बुवाको माया नपाउने अनि बिस्तारै अपराधतिर उन्मुख हुने गरेका छन् ।’
रुखो बोल्ने, ड्रग्स सेवन गर्ने, बलात्कार मुद्दामा पर्ने, चोरी मुद्दामा पर्ने जस्ता समस्यामा त्यस्ता बालबालिकाहरू परिरहेका छन् । यसले समाजलाई नै ठूलो असर परिरहेको उनको भनाई थियो । यतिसम्म की प्रेम विवाह गरेको तीन महिनामा नै सम्बन्धविच्छेद गर्ने भन्दै जोडीहरु आइरहेको उनको भनाई थियो ।
जिल्ला अदालत सुर्खेतका श्रेस्तेदार भूपाल भण्डारीले सम्बन्धविच्छेदका मुद्दा बढिरहेको बताए ।
सम्बन्धविच्छेदका चालू आर्थिक वर्षको पुस मसान्तसम्म २ सय २१ मुद्दा दर्ता भएका छन् । १ सय ४९ मुद्दा गत आर्थिक वर्षदेखि सरिआएका हुन । चालू आर्थिक वर्षमा जबरजस्ती करणीका ६० मुद्दा दर्ता भएका छन् । लगत सरि आएका २४ मुद्दा थिए ।
अदालतले १ सय ५६ मुद्दा फर्छ्यौट गरेको छ भने २ सय १४ मुद्दा बाँकी नै छन् ।
लागू औषधका ४३ मुद्दा दर्ता भएकोमा २६ को फैसला भइसकेको छ भने ४३ बाँकी छन् ।
गत वर्षदेखि १२ मुद्दा बहुविवाहको सरी आएकोआ चालू आर्थिक वर्षमा ११ नयाँ मुद्दा दर्ता भएका छन् । जम्मा २३ मुद्दा बहुविवाहका भएपनि १३ मुद्दाको फर्छ्यौट भइसकेको उनको भनाइ थियो ।
जिल्ला अदालत सुर्खेतले १६ सय ४२ मुद्दा पर्न सक्ने अनुमान गरेको थियो । शुरूका ६ महिनामा ७ सय ४८ मुद्दा दर्ता भइसकेका छन् ।