नवनिर्वाचित सभामुख अग्नि सापकोटाले सपथग्रहण लगत्तै सिंहदरबारस्थित सभामुखको कार्यालयमा पदभार सम्हालेका छन् ।
सोमवार बिहान राष्ट्रपति विद्यादेवी भण्डारीबाट राष्ट्रपति कार्यालय शीतलनिवासमा सपथग्रहण गरेका सापकोटा सिंहदरबार आएर पदभार ग्रहण गरेका हुन् ।
आइतवार प्रतिनिधि सभाका जेष्ठ सदस्य महन्थ ठाकुरको अध्यक्षतामा बसेको बैठकले सापकोटालाई निर्विरोध सभामुख निर्वाचित गरेको थियो ।
यौन दुर्व्यवहारको आरोप लागेका तत्कालीन सभामुख कृष्णबहादुर महराले असोजको दोस्रो साता राजीनामा दिएपछि प्रतिनिधि सभा सभामुखबिहीन बनेको थियो ।
सभामुख चयनको विषयलाई लिएर सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्रै अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल 'प्रचण्ड'बीच शक्तिसंघर्षको स्थिति पैदा भएपछि पुस ४ गते बोलाइएको संसद बैठक पटक-पटक स्थगित भएको थियो ।
दुवै अध्यक्षले आफूनिकट नेताहरूलाई सभामुख बनाउनुपर्ने अडान राखेका कारण लामो समयसम्म नेकपाले उम्मेदवार तय गर्न सकेको थिएन ।
प्रतिनिधि सभा सभामुखबिहीन भएको ४ महिनामा नयाँ सभामुख प्राप्त गरेको हो । प्रतिनिधि सभा सभामुखबिहीन हुँदा संसदको कार्यसूची प्रभावित भएको थियो ।
सभामुख र उपसभामुख फरक-फरक दल र कम्तिमा एक जना महिला हुनुपर्ने संवैधानिक प्रावधानका कारण सभामुख निर्वाचन अघि नेकपाबाटै उपसभामुखमा निर्वाचित शिवमाया तुम्बाहाम्फेले राजीनामा दिनुपरेको थियो ।
तस्वीरमा हेर्नुहोस् शीतलनिवासदेखि सिंहदरबारसम्म सभामुख सापकोटाको यात्रा -
