१९ असार २०८३, शुक्रबार

भक्तपुर ट्राफिक भवनकाे उद्‍घाटन, अपराधिविरुद्ध कठाेर बन्न आईजीपीकाे निर्देशन

भक्तपुर ट्राफिक भवनकाे उद्‍घाटन, अपराधिविरुद्ध कठाेर बन्न आईजीपीकाे निर्देशन

प्रहरी महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनालले महानगरीय ट्राफिक प्रहरी परिसर भक्तपुरको नवनिर्मित कार्यालय भवनको उद्‍घाटन गरेका छन्।

समुदाय-प्रहरी साझेदारी अवधारणा अन्तर्गत जनसहभागिताद्वारा निर्माण भएकाे भवन निर्माण समितिका अध्यक्ष नविन प्रजापतिले  आईजीपी खनाललाई सो भवन हस्तान्तरण समेत गरे।

खनालले समुदायको साथ र सहयोग प्राप्त भएमा निर्माणको कार्यले तीव्रता पाउने उल्लेख गर्दै प्रहरीले प्राप्त भवन मार्फत आमनागरिकलाई प्रदान गर्ने सेवाको स्तरमा थप उत्कृष्टता आउनु पर्नेमा जोड दिए। प्रहरीले अपराधिविरुद्ध कठोर रुपमा प्रस्तुत भई अपराध न्यूनीकरण र शान्ति सुरक्षा कायम गर्न सरोकारवाला निकाय तथा नागरिकसँगको समन्वय गरेर अगाडि बढ्नुपर्ने उनले चर्चा गरे।

समाजको सुरक्षामा समुदायको समेत सहभागिता आवश्यक भएकोले प्रहरीले 'समुदाय-प्रहरी साझेदारी' को अवधारणा ल्याएको चर्चा गर्दै खनालले यस अवधारणा अन्तर्गत विभिन्न कार्यक्रम संचालनको लागि नागरिक समाजसँग समन्वय गर्दै अगाडि बढेको बताए। कानुनको कार्यान्वयन गरी समाजमा शान्ति सुरक्षा स्थापना गर्न प्रविधिसँगै मानवीय उपस्थिति पनि आवश्यक रहेको उनले उल्लेख गरे।

महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी नायव महानिरीक्षक विश्‍वराज पोखरेलले नवनिर्मित भवनसँगै नेपाल प्रहरीको पेशागत क्षमतामा समेत थप अभिवृद्धि हुनुपर्ने चर्चा गरे। समुदाय-प्रहरी साझेदारी कार्यक्रमले प्रहरी र जनताबीचको सम्बन्ध स्थापित गर्न महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्दै नेपाल प्रहरीले कानुनको कार्यान्वयनमा निष्पक्षरुपमा अगाडि बढ्नुपर्ने उनले बताए।

महानगरीय ट्राफिक महाशाखाका प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक भिमप्रसाद ढकालले स्वागत मन्तव्य व्यक्त गरेकाे कार्यक्रममा भवन निर्माण समितिका अध्यक्ष नविन प्रजापतिले धन्यवाद ज्ञापन गरेका थिए।

भवन निर्माण समितिका कोषाध्यक्ष जितेन्द्र खायमलीले नवनिर्मित भवनको आयव्यय विवरण प्रस्तुत गरेका थिए। 

salt training

कमेन्ट गर्नुहोस्