
कोरोना भाइरसले महामारीको रूप लिएपछि चीन सरकारले पइचिङमा हात नमिलाउन भनेको छ । चीनमा बुहान लगायतका नागरिकलाई घरबाहिर निस्कन रोक लगाइएको छ ।
चीनमा उक्त भाइरसबाट ८० जनाको मृत्यु भएको छ ।
यसैगरी २ हजार ७ सयभन्दा बढी व्यक्ति संक्रमित भएका छन् । चिनियाँ स्वास्थ्यमन्त्री मा स्याओवेले यो भाइरसको असर १४ दिनसम्म रहने गरेको बताएका छन् । यसैत्रीच विश्व स्वास्थ्य संगठनका महानिर्देशक टेडरोस धानम ग्याब्रियेसस कोरोनाबारे छलफल गर्न चीन आइपुगेका छन् ।
उनले उक्त भाइरसबाट मुक्त पाउन चीनसँग सहकार्य गरिने जानकारी दिएका छन् । संक्रमितमध्ये ४६१ जनाको अवस्था गम्भीर रहेको सरकारले जनाएको छ ।
गत २४ घण्टायता ७६९ जना नागरिकमा यो भाइरसको संक्रमण देखिएको छ । त्यसैगरी ३ हजार ८०६ जनालाई पनि संक्रमणको आशंकामा निगरानीमा राखिएको छ । संक्रमणको प्रकोप चीनका कम्तीमा २५ प्रान्तमा फैलिएको छ भने कम्तीमा १८ शहरमा निकै डरलाग्दो तरिकाले फैलिएकाले ती शहरमा यातायातका साधन सञ्चालन गर्न प्रतिबन्ध लगाइएको छ ।
सरकारले देशभर हुने उडान, रेल सेवा र अन्य सवारीका साधन आवतजावतमा निगरानी बढाएको र उच्च सतर्कताका अपनाउन आह्वान गरेको छ । मानिसको बढी आवतजावत हुने विमानस्थल, बसपार्क, रेल स्टेसन लगायतमा स्वास्थ्य जाँचको प्रबन्ध मिलाइएको छ भने जंगली जनावर र पशु ओसारपसार तथा उपभोगमा कडाइ गरिएको छ । अन्नपूर्ण पोस्टमा खबर छ ।