
प्रधानमन्त्री केपी शर्मा ओलीले ७ प्रधानमन्त्रीको अवधि पार गर्दै आएको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) छिटो पारित गर्नुपर्ने बताएका छन् ।
प्रतिनिधि सभाको मंगलवारको बैठकलाई सम्बोधन गर्दै उनले सो विषयमा आगामी बैठकमा विस्तारमा राखिने बताए ।
उनले संसद्लाई नियमसम्मत ढंगले अघि बढाउन सभामुखलाई सफलता मिल्ने कामना गर्दै सहयोगको प्रतिबद्धता जनाए । ‘समाजको चरित्र पनि मेलमिलापयुक्त तरिकाले अघि बढेकाले संसद् पनि त्यही रुपमा अघि बढ्ने विश्वास छ, जनतामा सार्वभौमसत्ता आइसकेकाले जनता सबै कुराका अन्तिम निर्णयकर्ता बनेका छन्, संविधान कार्यान्वयनका लागि संयन्त्रलाई अघि बढाउनुपर्छ, बहुदलीय व्यवस्था, बहुविचार, बहुलता र विविधता हामीले रोजेको व्यवस्था भएकाले त्यसैअनुसार अघि बढ्नुपर्छ,’ उनले भने ।
सबै दलले छानेको व्यवस्था केही मतभिन्नता भएपनि आधारभूत कुरामा एकता गरेर अघि जान सकिने प्रधानमन्त्री ओलीले बताए । विगतमा बाटा फरक भएपनि गन्तव्य एउटै हुँदा एक भएर अघि बढे जस्तै अब पनि त्यही बाटोबाट हिँड्नुपर्ने उनको भनाइ थियो ।
‘संघर्षबाट पनि अन्तिममा हामी सहमतिमा पुग्छौं, ७ सालमा आन्दोलन सम्झौतामा पुगियो, सबै एकताबद्ध हुँदा सहमतिका साथ देश अघि बढी सफल भएको इतिहास छ, एकताबद्ध नहुँदा प्रतिगामी तत्व सफल भएकाले अब हामीले बेलैमा ध्यान दिनुपर्छ, एकताबद्ध रुपमा अघि बढ्न अनुभवले शिक्षा दिएको छ,’ उनले भने ।
दुनियाँ पूर्वाधार, विज्ञान प्रविधि आदि क्षेत्रमा तीव्र गतिमा अघि बढेको बताउँदै उनले त्यसलाई पक्रन नसके समय खेर जाने प्रधानमन्त्री ओलीले औंल्याए । ‘बलिदानीपूर्ण संघर्षबाट ल्याएको संविधान, त्यसअनुसार कानून निर्माण र कार्यान्वयनमा सरकार प्रतिबद्ध छ, आग्रहमा अल्झने गर्नु उपयुक्त हुँदैन, सभामुख चयनमै पनि हामी विलम्ब भयौं, अब ढिला गरिनु हुँदैन,’ उनले भने ।